काठमाडौं । कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेर अक्सिजन सिलिन्डरको अभाव हुन थालेपछि चीन सरकारले अनुदानमा नेपाललाई सिलिन्डर दिने भएको छ ।
अनुदानमा चीन सरकारले ३ हजार ५ सय थान सिलिन्डर दिने भएको हो । तर तीन चरण गरेर दिइने सिलिन्डर आइपुग्न भने निक्कै समय लाग्ने देखिएको छ । चार सय सिलिन्डर तत्काल र अरु दुई चरणमा पठाउने तयारी चीन सरकारले गरेको छ ।
चार सय सिलिन्डर आगामी बुधबारभित्र र १६ सय सिलिन्डर जेठ दोस्रो सातामा काठमाडौं ल्याइने भएको हो । बाँकी १५ सय सिलिन्डर भने जेठ अन्तिममा मात्रै नेपाल आइपुग्ने जनाइएको छ । चीनले नेपाललाई ४० लिटर क्षमताका सिलिन्डर अनुदान सहयोग गर्न लागेको हो ।