काठमाडौं: उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
सांसद पद खारेजीको माग गर्दै परेको रिटमा शुक्रबार सुनुवाइ गर्दै संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासमा सुनुवाइ भएको थियो।
रिटमा गैरकानुनी नागरिकता प्रयोग गरी चुनाव लडेर सांसद र मन्त्री बनेका लामिछानेको सांसद पद खारेज गर्न माग गर्नुका साथै सांसदका रुपमा कामकाज गर्न रोक लगाउन अन्तरिम आदेशको पनि माग गरिएको थियो।
