धनगढी: कञ्चनपुरमा एक वडाध्यक्षले पद र आफू निर्वाचित भएको पार्टीबाट राजीनामा दिएका छन्। शुक्रबार जिल्लाको शुक्लाफाँटा नगरपालिका वडानम्बर–८ का वडाध्यक्ष समेत रहेका माओवादी नेता बहादुरसिंह महरा राजीनामा गरेका हुन्।
उनले आफु पदमा बसेर काम गरिरहन सक्ने अवस्था नरहेको भन्दै पदबाट राजीनामा गरेको बताएका छन्। आज उनले शुक्लाफाँटा नगरपालिकाको १२ औँ नगर अधिवेशनको क्रममा नगर प्रमुख रणबहादुर महरालाई राजीनामा पत्र थमाएका थिए।
उनले बुझाएको राजीनामा पत्रमा भनिएको छ, ‘शुक्लाफाँटा नगरपालिका कार्यालय झलारी कञ्चनपुर सुदूरपश्चिम प्रदेश नेपालबाट निरन्तर रुपमा जनचाहना र जनभावना विपरीत कार्यहरु भइरहेकोले म किनाराको साक्षी बस्दा जनमतको अपमान हुने भएकाले आजकै मितिबाट मैले पदबाट राजीनामा गरेको छु।’
उनी बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का तर्फबाट दोस्रो पटक वडाध्यक्षमा चुनिएका थिए। यस्तै महराले माओवादी केन्द्रसमेत परित्याग गरेको बताएका छन्। पार्टी परित्याग गरेको पत्रसहित नगर कमिटी अध्यक्षलाई जानकारी गराएको उनले बताए। उनी माओवादी केन्द्र छाडेर नेकपा बहुमततिर लागेका छन्। महरालाई आज नेकपा बहुमतका केन्द्रीय सचिवालय सदस्य तथा पार्टी व्युरो इन्चार्ज महानले स्वागत गरेको बताइएको छ।