पुस २०, २०७९ बुधबार

काठमाडौं: सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार पाँच दलका शीर्ष नेताको बैठक बसिरहेको हो। 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन्।​

उनीहरूबीच मन्त्रिमण्डल विस्तार, सरकारका साझा कार्यक्रमलगायतका समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ। प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने तयारी गरिरहेका छन्।

उनले विश्वासको मत अगाडि दलहरुलाई सहमतिमा ल्याउने प्रयास गरिरहेका छन्। प्रधानमन्त्री प्रचण्डले बुधबारै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको भेटमा सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए। 

विश्वासको मत लिनुअघि सरकारको न्यूनतम् साझा कार्यक्रम घोषणा गर्ने सत्ता साझेदार दलहरूको तयारी छ।