पुस १९, २०७९ मंगलबार

काठमाडौ । १४ पुसमा बसेको सत्तासाझेदार दलहरुको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलले मस्यौदा लेखन कार्यलाई अन्तिम चरणमा पुयाएको छ । सत्तासाझेदार सबै दलबाट सुझाव संकलन गरेर मस्यौदा लेखन प्रक्रिया अगाडी बढाईएको हो । मस्यौदा समतिका संयोजक उपप्रधान तथा अर्थमन्त्री पौडेललाई मस्यौदा लेखनको जिम्मा दिईएको छ । पौडेलले लेखन कार्यलाई अन्तिम रुप दिएपछि समितिको बैठक बसेर छलफल गरी उच्चस्तरीय संयन्त्रका संयोजक तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई देखाएपछि यसले अन्तिम रुप लिने बताईन्छ ।

पाँच दिनको समयसिमा राखेर बनाइएको यो समितिले न्युनतम साझा कार्यक्रम तयार पारेपनि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेपछि यसलाई संसदमा प्रस्तुत गरिने बताईएको छ । प्रधानमन्त्री प्रचण्डले आउने २६ गते संसदबाट विश्वासको मत लिने तयारी छ । राप्रपाका नेता तथा मस्यौदा निर्माण कार्यदल सदस्य धवलशमशेर राणाका अनुसार मस्यौदा लेखन सकिएपछि अर्को बैठक बसेर त्यसलाई अन्तिम रूप दिने तयारी छ ।

१४ पुसमा गठित कार्यदलमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जसपाको सहभागिता छ । समितिलाई पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम तयारी गर्ने कार्यादेश छ । कार्यदलको पहिलो बैठक १६ पुसमा अर्थ मन्त्रालयमा बसेको थियो ।

नवगठित पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सातदलीय सरकारले राष्ट्रियताको रक्षा, सुशासन र अर्थतन्त्रमा सुधार, समृद्धि र शान्तिप्रक्रियाको पूर्णतासहितका चार मुख्य एजेन्डा र भ्रष्टाचार र महँगी नियन्त्रणसँगै सन्तुलित वैदेशिक नीतिलाई प्राथमिकतामा राखेर न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी भईरहेको छ ।

सरकारले २६ पुसमा विश्वासको मत लिएलगत्तै न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्ने र सरकारलाई पनि पूर्णता दिने प्रधानमन्त्री प्रचण्डको तयारी छ । त्यसका लागि उनले उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक तथा एमाले अध्यक्ष केपी ओलीसँग पनि दुई चरण परामर्श गरिसकेका छन् ।