बैशाख २१, २०७८ मंगलबार

काठमाडौं । नेपालमा कोरोना भाइरस कोभिड १९ बाट सङ्क्रमित बनेका सरकारी तथा अर्धसरकारी निकायका कर्मचारीलाई १४ दिनको विदा दिइने भएको छ ।

कोरोना पुष्टि भएपछि उपचार र आरामका लागि कर्मचारीलाई २ साता समय दिएर काज विदा दिइने भएको हो । देशमा कोरोनाको दोस्रो लहर तीव्र फैलिएसँगै सरकारले यस्तो निर्णय लिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कर्मचारीलाई कोभिड–१९ काज विदाको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई परिपत्र गरिसकेको छ ।

कोभिड सङ्क्रमण भएर घरमै आइसोलेसनमा बसेका कर्मचारीले १४ दिन र अस्पताल भर्ना भई उपचार गराउनुपरेमा सो अवधिभर काज विदा दिने व्यवस्था गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए । त्यसबाहेक कन्ट्याक ट्रेसिङमा परेका कर्मचारीले चार दिन काज विदा पाउनेछन् । यो व्यवस्था सरकारी तथा अर्धसरकारी निकायमा लागू हुनेछ । त्यसका लागि कार्यालय प्रमुखले प्रमाणित गर्नुपर्ने हुन्छ ।