पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार २ सय ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १६ हजार ७ सय ७० परीक्षण गर्दा ७ हजार २ सय ११ जनामा सङ्क्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार त्यस्तै पछिल्लो २४ घण्टामा १६ हजार ७ सय ७० पिसिआर परीक्षण र ६ सय २३ जनाको एन्टिजेन परीक्षण भएको छ । पिसिआर परीक्षण गराएकामध्ये ७ हजार १ सय ३७ जना र एन्टिजेन परीक्षण गराएकामध्ये ७४ जनामा कोरोना पुष्टि भएको हो ।
यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३ लाख ३६ हजार ३० पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ४८ हजार ७ सय ११ रहेको मन्त्रालयले जनाएको छ । यस्तै आज एक हजार ६ सय १२ सङ्क्रमित निको भएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या २ लाख ८३ हजार २ सय ९४ पुगेको छ ।
यता, पछिल्लो २४ घण्टामा २७ सङ्क्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार ३ सय २५ पुगेको छ ।