चौतारा । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगैं सिन्धुपाल्चोकमा संक्रमणको दर निकै बढेको छ । हालसम्म जिल्लामा ८३ जना कोरोना संक्रमित भइसकेका छन् भने २ जनाको मृत्यु भएको छ । कोरोना महामारीको लहर बढेपनि त्यसलाई न्युनिकरण गर्नमा प्रशासन, स्थानीय सरकार, राजनीतिक दल, जनप्रतिनिधिले खाशै चासो दिएका छैनन् ।
अझैसम्म पनि नेताहरु उद्घाटन, शिलान्यास र सार्वजनिक कार्यक्रममा व्यस्त छन् भने विवाह जस्ता सामुहिक भेटघाट हुने कार्यक्रमहरु जिल्लामा यथावत चलिरहेका छन् । सरकारले विवाह जस्ता सामुहिक कार्य गर्दा २५ बाट पनि घटाएर १५ जना मात्रै उपस्थित हुने निर्णय गरेको छ । तर त्यसको प्रभावकारी अनुगमन नहुँदा मानिसहरु भीडम भीड गरिरहेका छन् । अहिलेपनि विवाहको सिजन भएकाले यस्ता कार्यक्रमहरु यथावत भइरहेका छन् । त्यहाँ यति नै मान्छे भन्ने छैन् अन्य समयको जस्तै विवाहमा मानिसको भीड लाग्ने गरेको छ । पछिल्लो कोरोना संक्रमणको अवस्था हेर्दा विवाहबाट धेरै कोरोना संक्रमण भएको तथ्यांक देख्न सकिन्छ । केही समय अघि इर्खुका एक बेहुलामा कोरोना संक्रमण भएपछि विवाह नै रोकिएको थियो । इर्खुबाटै बेहुली लिन कदमवास जन्ती गएकाहरुबाट संक्रमण हुँदा कदमवासमा एकै गाउँका १२ जनामा संक्रमण पुष्टि भए बाट पनि मानिसको जमघट हुने कार्यक्रमहरु रोक्न जरुरी छ । निश्चित मापदण्ड अपनाएर मानिसहरु भेला हुने यस्ता कार्यक्रम व्यवस्थित बनाउन तर्फ स्थानीय सरकार, प्रहरी प्रशासनको ध्यान जान जरुरी छ /