बैशाख १८, २०७८ शनिबार

 काठमाण्डौ।  सरकारले कोरोनाको सङ्क्रमणावस्था हेरेर निषेधको आदेश जारी गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा जारी गरिएको छ ।

गृह मन्त्रालयका अनुसार आजसम्मको प्राप्त विवरणमा कुल २३ जिल्लामा निषेधको आदेश जारी गरिएको छ । त्यसमध्ये आजसम्म १९ जिल्लामा आदेश कार्यान्वयनमा आएको छ । केही जिल्लामा आंशिक र कतिपय जिल्लामा आवश्यकता हेरी फरकफरक आदेश जारी गरिएको छ । आदेश जारी भएका जिल्लामध्ये एक जिल्लामा यही वैशाख १८ र अन्य तीन जिल्लामा १९ गतेदेखि कार्यान्वयन गरिने जनाइएको छ ।

सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्र तोकी प्रजिअलाई निषेधाज्ञा वा अन्य आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको थियो ।