काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण दर नेपालमा उच्च रहेको छ । नेपालमा अहिले सङ्क्रमित २२८ प्रतिशतका दरले बढिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका सङ्क्रामक रोग विशेषज्ञ डा अर्चना श्रेष्ठले गत हप्ताको तुलनामा यसहप्ता नेपालमा सङ्क्रमित दर २२८ प्रतिशतले वृद्धि भएको जानकारी दिएकी हुन् । उनका अनुसार यसहप्ता यहाँको सङ्क्रमण दर भारतको जस्तै रहेको छ ।
गतवर्ष भारतमा नेपालको भन्दा एक महिनाअघि नै बढी सङ्क्रमण दर रहेको यसवर्ष भने नेपाल र भारतको सङ्क्रमणको दर एउटै रहेको उनले जानकारी दिईन । “चार हप्तामा भारतजस्तै नेपालमा सङ्क्रमणको दर छिटो छिटो बढेको छ”, उनले भनिन्, “नेपालमा भारतमा भन्दा बढी सङ्क्रमण दर रहेको छ ।”
नेपाल भारतभन्दा द्रुत गतिमा सङ्क्रमणको दर बढिरहेको उनको थपे । भारतमा जस्तै नेपालमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पनि बढिरहेको उनले जानकारी दिइन् । संसारभरमा नेपाल अहिले सङ्क्रमण सार्नेमा सबैभन्दा उच्च रहेको उनले सुनाइन् । एक जनाले दुई जनाभन्दा बढीलाई सङ्क्रमण सारिरहेको छ । अहिलेसम्म नेपालमा ३ लाख १२ हजार ६९९ जनामा सङ्क्रमण, २ लाख ७९ हजार २७९ जना निको र ३ हजार २११ को निधन भइसकेको छ ।