बैशाख १४, २०७८ मंगलबार

काठमाण्डौ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसलाई परिमार्जनसहित पारित गरेको छ । सोमबार साँझ पाँच बजे बस्ने भनिएको बैठक एक घण्टा ढिलो गरी बसेको थियो । यस मन्त्रिपरिषद बैठक कोरोना रोकथाम तथा नियन्त्रणका सन्दर्भमा केन्द्रित थियो ।

सहरी क्षेत्रमा ५ सय संक्रमित र पहाडी जिल्लामा २ सय संक्रमित नाघेपछि निषेधाज्ञा लगाउन सकिने सीसीएमसीको निर्णय थियो। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यसलाई अनुमोदन गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश ठगुन्नाले जानकारी दिए।

जसअनुसार बिहीबारदेखि लागू हुनेगरी उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ।

बैठकले सीसीएमसीले बैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरे पनि १६ गते विहान ६ बजेसम्म सञ्चालन हुन दिने निर्णय गरेको उनले बताए ।

उनका अनुसार सीसीएमसीले पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० सक्रिय संक्रमितको संख्या नाघेमा निषेधाज्ञा जारी गर्ने जिम्मेवारी स्थानीय प्रशासनलाई दिन गरिएको सिफारिस पनि बैठकले पारित गरेको छ ।

त्यस्तै बैठकले वैशाख १६ (बिहीबार)देखि नेपाल–भारत सीमा क्षेत्र बन्द गर्ने निर्णय गरेको छ। वैशाख १६ गतेदेखि सीमानाका बन्द गर्ने निर्णय भएको हो । पछिल्लो समय भारतमा दोस्रो लहरको कोरोना संक्रमण उच्च तहमा पुगेका बेला भारतसँगको सीमा बन्द गरिनुपर्ने माग हुँदै आएको थियो।

भारतमा कोरोना संक्रमण बढ्दै गएपछि रोजगारीका लागि त्यहाँ गएका नेपालीहरु अहिले स्वदेश फर्किन थालेका छन्। सरकारको निर्णयबाट उनीहरु प्रभावित हुनेछन्।