दिपु वर्णवाल
वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राती गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएका ८८ जना मध्ये वीरगञ्जस्थित उच्च अदालत अस्थायी इजलासका दुई जना न्यायाधीश र १३ जना कर्मचारी समेत गरी १५ जनामा कोरोना संक्रमण देखिएको छ ।
उच्च अदालत अस्थायी इजलाश वीरगञ्जमा संकलित १०६ जनाको स्वाब मध्ये ८० जनाको परीक्षण गर्दा दुई जना न्यायाधीश र १३ जना कर्मचारी गरी १५ जनामा संक्रमण पुष्टि भएको हो भने २६ वटा स्वाबको परिक्षण रिर्पोट आउन बाँकी रहेको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएका परीक्षणको बुधबार राति आएको १ सय ९२ जनाको स्वाब परीक्षण रिर्पोटमा ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। थपिएका नयाँ संक्रमितहरुमा पर्सा जिल्लाका ७९ जना , बारा जिल्लाका ७, रौतहट र रुकुम जिल्लाका १–१ जनामा रहेका छन्। पर्साका ७९ जना मध्ये ७६ जना वीरगन्ज महानगरपालिकाका र ३ जना बहुदारमाई नगरपालिकाका छन् ।
चार वर्षदेखि ७८ वर्ष उमेर समुहका थपिएका संक्रमितमध्ये ६४ जना पुरुष र २४ जना महिलामा रहेका छन् ।