कात्तिक २१, २०७९ सोमबार

काठमाडौँ – ललितपुर क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारीविरुद्धको मुद्दाको मंगलबारको सुनुवाइ ‘हेर्न नभ्याइने’मा परेको छ ।

आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर- ३ बा‌ट उम्मेदवारी दिएकी उनको उम्मेदवारी यथावत् राख्नू भन्ने अन्तरिम आदेशविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सोमबारको सुनुवाइ हेर्न नभ्याइनेमा परेको हो ।

निर्वाचन आयोगले तोसिमाको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्नू भन्ने गत मंगलबारको सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध रिट परेको थियो । उक्त अन्तरिम आदेश बदर गरी पाउँ भनि गत शुक्रबार आयोगले सर्वोच्च अदालतमा निवेदन दिएको थियो । उक्त निवेदनउपर सुनुवाइ गर्न सोमबारका लागि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिएको थियो । तर,‘हेर्न नभ्याइने’मा परेको छ ।

गत मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको थियो । अदालतले उम्मेदवारी खारेज गर्नुपर्ने कारणबारे आयोगसँग लिखित जवाफ समेत मागेको छ ।

नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकी कार्कीलाई लाभको पदमा कायम रहेको भन्दै आयोगले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो ।