बैशाख २३, २०८३ बुधबार

काठमाडौँ, २३ वैशाखः नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको आर्थिक उन्नयनका निम्ति हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

महासङ्घ अध्यक्षको कार्यभार सम्हाल्नुअघि रासससँग सङ्क्षिप्त कुरा गर्दै उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उद्यमी व्यवसायीका साथै लगानीको सुरक्षा आफ्नो पहिलो प्राथमिकता भएको उहाँले बताउनुभयो । निजी क्षेत्र र सरकारबीचको साझेदारी अपरिहार्य छ भन्दै उहाँले राष्ट्रको समृद्धि आपसी साझेदारीबाटै सम्भव हुने बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठ आजदेखि महासङ्घको अध्यक्ष हुनुहुभएको हो । महासङ्घको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानअनुसार उहाँले कार्यभार सम्हाल्नुभएको हो । 

अध्यक्ष श्रेष्ठ साढे दुई दशकदेखि महासङ्घमा आबद्ध हुनुहुन्छ । उहाँ व्यावसायिक घराना लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक हुनुहुन्छ ।