काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) छिमेकी देश भारतमा अहिले महामारीको विकराल अवस्थामा पुगेको छ । दैनिक संक्रमण दरको आधारमा विश्वको सबैभन्दा धेरै संक्रमित देखिएका मुलुकहरुको सूचीकाे पहिलो नम्बरमा भारत देखिएकाे छ।
शनिबार एकैदिन २ लाख ६० हजार ७७८ जनामा कोरोना संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । संक्रमणबाट एकैदिन १ हजार ४९५ जनाको मृत्यु समेत भएको छ ।
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ४७ लाख ८८ हजार १०९ पुगिसकेको छ भने मृत्यु हुनेको संख्या १ लाख ७७ हजार १६८ पुगेको छ ।
नयाँ भेरियन्टको कोरोना महामारी फैलिएपछि भारतमा सक्रिय संक्रमितको संख्या अत्याधिक बढेको छ । तथ्यांकअनुसार १८ लाख १ हजार २९८ सक्रिय संक्रमित छन् ।
भारतमा १० करोड ४४ लाख ८ हजार ४८४ नागरिकले कोरोना विरुद्धको खोपको पहिलो डोज लगाएका छन् । त्यसमध्य १ करोड ५५ लाख २९ हजार १५७ जनाले दोस्रो डोज समेत लगाइसकेका छन् ।
खोप लगाएपछि पनि कोरोना संक्रमण बढेपछि भारत सरकारले स्वास्थ्य सुरक्षा मापदण्डमा कडाई गरेको छ ।