चैत २४, २०७७ मंगलबार

नेपालमा पछिल्लो समय देखा परेको कोरोना भाइरस (कोभिड–१९)को यूके भेरियन्टको भाइरसले पहिले देखिएभन्दा बढी सङ्क्रमण फैलाइरहेको पाइएको छ । यो भाइरसको भेरियन्ट भारतबाट सीमा नाका हुँदै नेपाल भित्रिएको हो । 

भारतका मुख्य सहर मुम्बईमा सङ्क्रमण फैलिएपछि अहिले कफ्र्युसम्म लगाउने अवस्थामा पुगेको छ । भाइरस सङ्क्रमण रोक्न अन्य मुख्य प्रान्तका सहरमा पनि कफ्र्यु लगाइएको छ तर नेपालमा यस भाइरसप्रति बेवास्ता गर्ने क्रम बढेकाले पनि दिनानुदिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारीले जानकारी दिनुभयो । 

हाल देखिएको भाइरसको सर्ने क्षमतालाई मानिसले नै बढावा दिइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, जुन स्वरूपको भाइरस भए पनि सावधानी छाड्नु हुन्न थियो तर जमघट गर्ने, मास्क नलगाउने, हिँडडुल बढी गर्न थालेकाले समस्या बढ्दै छ । सीमा नाकाबाट नेपाल भित्रिएका तीन जना नेपालीको स्वाब परीक्षणपछि यूके भेरियन्टको नयाँ स्वरूप भएको कोरोना भाइरस नेपाल भित्रिएको पत्ता लागेको हो । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार नयाँ स्वरूप पत्ता लगाउन एन्टिजेन परीक्षण आवश्यक मानिन्छ । त्यस विधिबाट सीमा नाका हुँदै भित्रिएका तीन हजार ४७३ जनाको परीक्षण गर्दा १४३ जनामा कोरोना भएको फेला परेको थियो ।

यो स्वरूप नेपालमा देखिएलगत्तै अस्पतालले स्वास्थ्य मन्त्रालय र सरोकारवाला निकायलाई कडाइ गर्न घच्घच्याइरहेको अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले बताउनुभयो । उहाँका अनुसार यो स्वरूपको कोरोना भाइरसमा सर्ने सम्भावना अति नै बढी रहेको र सङ्क्रमितसँग अलिक नजिक रहेका करिब २५ जना मानिसलाई तीन–चार घण्टाभित्र एकैचोटि सार्न सक्ने क्षमता भएको राजभण्डारीले बताउनु भयो ।