कोरोना भाइरस (कोभिड १९) महामारीको प्रकोप विश्वमा पुनः फैलिरहेको छ । सङ्क्रमण दर उच्च भएको देशको सूचीमा छिमेकी देश भारत पनि छ । भारतमा सङ्क्रमण दर बढेसँगै नेपालमा सङ्क्रमण दर बढ्नु स्वभाविक हो । खुला सीमा नाकामा सतर्कता नअपनाएका कारण भारतबाट नेपालमा सङ्क्रमण फैलन समय नलाग्ने विज्ञहरु बताउँछन् ।
कोरोना भाइरसको सङ्क्रमण सामान्य भएको भन्दै मानिसहरूले यसलाई सामान्य रुपमा लिन थालेका छन् । तर, सङ्क्रमणको दर घटिरहेको बेलामा नयाँ भाइरस नेपालमा भित्रिएकाले सतर्कता नपअनाए अवस्था गम्भीर बन्न सक्ने विज्ञहरुले चेतावनी दिएका हुन् ।
पछिल्लो दुई महिनायता विराटनगरमा कोरोना सङ्क्रमण देखिएको थिएन । मानिस सामान्य दैनिकीमा फर्किएका थिए । तर, गत बुधबार विराटनगरमा मात्र १० जना नयाँ सङ्क्रमित भेटिए ।
विराट मेडिकल कलेज र शिक्षण अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन तथा पल्मोनोलोजिस्ट डा। पुरु कोइराला नेपालमा कोरोना भाइरसको दोस्रो वेभ नभई तेस्रो वेभ आएको हुनसक्ने बताउँछन् । गत पुस माघमा दोस्रो लहर देखिएको उनले बताए ।
पहिलेको सङ्क्रमणसँगको तुलनामा गर्दा भाइरसबाट सङ्क्रमित बिरामी पर्ने क्रम बढ्दै गए पनि बिरामी गम्भीर हुने वा मृत्युदर भने बढेको छैन ।
धेरै सङ्क्रामक भनिने भेरिएन्टका कारण बिरामी भने पहिलेको जस्तो सिकिस्त परेका छैनन् । डा। कोइरालाका अनुसार भेरिएन्टले निमोनियासम्म गराएको पाइएको छ । पहिलाको तुलनामा स्वासप्रस्वासमा हुने गरेको समस्या पनि कम देखिएको उनले बताए ,सङ्क्रमणबाट जोगिनका लागि सतर्कता अपनाएको खण्डमा पहिलेको जस्तो जोखिम नरहने बताए ।
मास्कको प्रयोग, सामाजिक दूरी, साबुनपानीले हात धुने तथा सेनिटाइजरको प्रयोगमा ध्यान दिन सके पहिलाजस्तो अस्पतालमा बिरामीको सङ्ख्या बढ्ने तथा लकडाउन गर्नुपर्ने स्थिति नआउन सक्ने उनको भनाइ छ । नयाँ भेरिएन्टलाई सामान्य भाइरस हो भनेर सोच्न नमिल्ने कोइराला बताउँछन् ।
जनस्वास्थ्य विशेषज्ञ डा। नवराज सुब्बाका अनुसार सङ्क्रमणको दर घटिरहेको तथा जनजीवन सामान्य हुँदै गएको बेलामा फेरि पनि विराटनगरमा सङ्क्रमित भेटिनाले आममानिसमा डर थपिदिएको छ । कोरोना भाइरसका नयाँ प्रकार देखिनु पनि गम्भीर चिन्ताको विषय रहेको उनले बताए । नयाँ प्रकारको भाइरसमा भएको म्युटेसनको कारणले यसलाई थप सङ्क्रामक बनाएको छ । नयाँ भाइरसको सर्ने क्षमता पुरानोको भन्दा बढी हुन्छ भन्ने प्रमाणित भइसकेकाले मानिस सङ्क्रमित हुने जोखिम बढी रहेको उनले बताए ।