चैत १७, २०७७ मंगलबार

प्राय मानिसहरु कुनै काम सकाउनका लागि हतार हुँदा, शौचालय नजिक नभएको बेला, यात्रा गरिरहेका बेला वा कुनै कारणले पिसाब रोकेर बसिरहेका हुन्छन् ।

पिसाबथैली भरिनेबित्तिकै मानिसलाई पिसाब फेर्न मन लाग्छ । मानिसहरूले केही घण्टासम्म पिसाब रोकेर राख्न सक्छन् । धेरैजसो महिला र बालबालिकाहरूमा पिसाब रोक्ने बानी हुने गरेको हुन्छ । केही समयसम्म वा एक दुईपटक पिसाब रोक्नाले खासै केही फरक नपर्न सक्छ ।

तर, लामो समयसम्म पिसाब रोकेमा पिसाब पुनः मृगौलामा फर्केर जान्छ जुन मृगौलाका लागि हानिकारक हुनसक्छ । नियमितरूपमा, पटक–पटक र घण्टौँ पिसाब रोक्नु वा पिसाब गर्दागर्दै बीचमै रोक्ने बानी मृगौलाको स्वास्थ्यका लागि उचित हँदैन । पिसाब रोक्नाले पिसाब थैलीको मांसपेशी तन्किने हुन्छ र पिसाब थैलीको मांसपेशीसमेत कमजोर हुन्छ । जसकारण पिसाब रोक्न गाह्रो हुने, पिसाब चुहिनेलगायतका समस्या हुनसक्छ ।

साथै, लामो समयसम्म पिसाब रोक्नाले पिसाब पुनः माथितिर फर्कने, पिसाब थैलीमा सङ्क्रमण बढाउने, पिसाब थैली सुन्निने, पीडा हुने, पिसाब पोल्ने वा पिसाब जम्ने समस्यासमेत निम्त्याउन सक्छ । फेर्दाफेर्दै पिसाब रोक्नाले मूत्रमार्ग सङ्क्रमण हुने खतरा बढी हुन्छ ।

पिसाब रोक्ने बानीले पिसाब थैलीमा ढुङ्ङ्गासमेत बनाउने (पत्थरी) गर्छ । पिसाब रोक्ने बानीका कारण शरीरको फोहोर पदार्थ बाहिर निस्कन नपाउँदा रगतमा फैलिएर अनेकौँ समस्या सिर्जना हुन्छ । पिसाब रोक्नु मृगौलाका लागि हानिकारक हुन्छ । नियमित पिसाब रोक्ने बानीले भविष्यमा किड्नी फेल गराउने सम्भावना समेत रहन्छ ।