चैत १३, २०७७ शुक्रबार

सिरहाको नरहा गाउँपालिका–३, चोहर्वामा रहेको अनुराधा हेल्थ केयर एन्ड डाइग्नोस्टिक सेन्टरमा चिकित्सकको लापरबाहीका बिरामीको मृत्यु भएको भन्दै पीडित परिवारले आन्दोलन गरेको छ । चिकित्सकले सही उपचार नगर्दा र समयमै अन्यत्र उपचारको लागि रिफर नगर्दा नरहा गाउँपालिका ३ डन्डाटोलका ६४ वर्षीय राम सुफल महतोको बिहीबार मृत्यु भएको मृतकका छोरा लालबिहारी महतोले बताए ।

बान्ता आउने र उच्च रक्तचाप भएर गत सोमबार महतोलाई हेल्थ केयरमा भर्ना गरिएको परिवारजनको भनाइ छ । भर्ना भएकै दिनदेखि बिरामीमा खासै सुधार नआएपछि छोरा लालबिहारीले डाक्टरलाई पटक पटक अन्यत्र रेफर गर्न भने पनि चिकित्सक संजय यादवले ‘यहीँ ठिक हुन्छ’ भन्दै जबरजस्ती राखेको लालबिहारी बताउँछन्।

अन्तिममा आफ्नो केही नचलेपछि वडा अध्यक्ष अनीसुल मियाँलाई ल्याएर अस्पतालमै भन्न लगाई रेफर गराएर बुधबार बेलुका थप उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले बताए ।

चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै पीडित पीडित परिवारले उपचारमा संलग्न चिकित्सकलाई सार्वजनिक गरेर कारबाही गर्नुपर्ने माग गर्दै आन्दोलन गरेका छन् । चिकित्सक डा संजय यादव भने फरार भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।