चैत १२, २०७७ बिहिबार

पछिल्ला दिनहरुमा विभिन्न देशमा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढ्न थालेको छ ।

सङ्क्रमण दर तीव्र भएसँगै नयाँ रणनीतिसहित नियन्त्रणका प्रयासहरु सुरु भएका छन् । कोरोनाको दोस्रो र तेस्रो लहर सुरु भएका विभिन्न देशमा लकडाउन, कर्फ्युलगायत कडाइका कदमहरु चालिएका छन् ।

पछिल्लो २४ घण्टामा विश्वभर ९ हजार २ सय ११ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । योसँगै ज्यान गुमाउनेको सङ्ख्या २७ लाख ५४ हजारभन्दा धेरै पुगेको छ । विश्वभर अहिलेसम्म १२ करोड ५३ लाखभन्दा धेरै व्यक्ति कोरोना सङ्क्रमित भइसकेका छन् ।

सङ्क्रमितमध्ये १० करोड ११ लाख व्यक्ति निको भइसकेका छन् । २ करोड १३ लाख ९३ हजारभन्दा धेरै सङ्क्रमित अहिले पनि विभिन्न अस्पताल र होम आइसोलेशनमा रहेका छन् ।

कुन देशमा सङ्क्रमण दर बढ्दै छ ?

अमेरिका, ब्राजिल, भारत, टर्की, इटली, जर्मनी, पोल्याण्डलगायत देशहरुमा कोरोना सङ्क्रमणको दर अस्वाभाविक रुपमा बढिरहेको छ । यी देशहरुमा कोरोनाको दोस्रो र तेस्रो लहर सुरु भइसकेको छ । कोरोनाविरुद्धको खोप लगाउन सुरु भए पनि यी देशहरुमा भने कोरोना सङ्क्रमणको दर उच्च भएको हो ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै सङ्क्रमित थपिएका छन् । ब्राजिलमा पछिल्लो २४ घण्टामा ८२ हजार ८१८ जना सङ्क्रमित थपिएका छन् । योसँगै ब्राजिलमा सङ्क्रमितको सङ्ख्या १ करोड २२ लाख १९ हजारभन्दा धेरैे भएको छ । यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टामा मात्रै एक हजार ८ सय ३२ जनाको ज्यान गएको छ ।  योसँगै ब्राजिलमा ज्यान गुमाउने कोरोना सङ्क्रमितको सङ्ख्या ३ लाख ६ सय ७५ भन्दा धेरै भएको छ । 

यस्तै कोरोनाले सबैभन्दा धेरै प्रभावित अमेरिकामा पछिल्लो २४ घण्टामा ६४ हजार १ सय ४१ जना सङ्क्रमित थपिएका छन् । योसँगै अमेरिकामा जम्मा कोरोना सङ्क्रमितको सङ्ख्या ३ करोड ७ लाखभन्दा धेरै भएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार १ सय ८६ जना कोरोना सङ्क्रमितको ज्यान गएसँगै ज्यान गुमाउनेको कुल सङ्ख्या ५ लाख ५८ हजार २ सय ३ पुगेको छ ।

यस्तै छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा ५३ हजार ४ सय १९ भन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै जम्मा कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड १७ लाख नाघेको छ । भारतमा पछिल्लो २४ घण्टामा २४९ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या १ लाख ६० हजार ६ सय नाघेको छ । सन् २०२१ पछि भारतमा सङ्क्रमण बढ्दै गएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा टर्कीमा २९ हजार ७ सयभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् भने १४६ जनाको ज्यान गएको छ । टर्कीमा अहिलेसम्म ३० लाखभन्दा धेरै व्यक्ति सङ्क्रमित भएका छन् भने ३० हजार ४ सयभन्दा धेरैे व्यक्तिको ज्यान गएको छ । 

यस्तै पोल्याण्डमा पनि कोरोना सङ्क्रमित अस्वाभाविक रुपमा बढिरहेको छ । पोल्याण्डमा पछिल्लो २४ घण्टामा झण्डै ३० हजार  सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या २१ लाख २० हजार पुगेको छ । पछिल्लो २४ घण्टामा पोल्याण्डमा ५७५ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ५० हजार ३ सय ४० नाघेको छ ।

यस्तै इटलीमा पछिल्लो २४ घण्टामा २१ हजार २ सयभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन्  । ज्यान गुमाउनेको सङ्ख्या ४६० जना थपिएसँगै १ लाख ६ हजार नाघेको छ ।