चैत १०, २०७७ मंगलबार

नेपालगञ्ज– चालु आर्थिक वर्षको आठ महिनामा बाँकेमा क्षयरोगबाट २० जनाको मृत्यु भएको छ।

आठ महिनाको अवधिमा क्षयरोगबाट २० जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय, बाँकेका क्षयरोग फोकल पर्सन मानव नेपालीले जानकारी दिए। उनका अनुसार जिल्लामा क्षयरोगका ४ सय ७५ जना नयाँ बिरामी फेला परेका छन्।

बाँकेमा सबैभन्दा धेरै नेपालगञ्ज उपमहानगरपालिकामा क्षयरोगी रहेका छन्। फोकलपर्सन नेपालीका अनुसार नेपालगञ्जमा १ सय ९ जना, कोहलपुरमा ९१ जना, राप्तीसोनारीमा ४७ जना, बैजनाथमा ५८ जना, खजुरामा ६५ जना, जानकीमा ३३ जना, डुडुवामा ४४ जना र नरैनापुर गाउँपालिकामा २९ जना क्षयरोगी फेला परेका छन्।

स्वास्थ्य कार्यालयका अधिकृत सुनिता पौडेलले बाँकेमा चार सय जना क्षयरोगी सम्पर्कमा नआएको बताइन्।

गत वर्ष बाँकेमा ८ सय ३३ जना क्षयरोगी फेला परेका थिए। गत वर्षको तथ्यांक हेर्दा लुम्बिनी प्रदेशमा बाँके क्षयरोगी बढी हुनेमा तेस्रो नम्बरमा रहेको छ। लुम्बिनीको १२ जिल्लामा सबैभन्दा बढी एक हजार एक सय ६३ जना रुपन्देही, ९ सय १६ जना दाङ र ८ सय ३३ जना बाँकेमा क्षयरोगी देखिएका थिए।

क्षयरोग लागेका बिरामी पत्ता लगाउनु नै ठूलो चुनौती रहेको स्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाहले बताए।