कोरोना भाइरस कोभिड १९ का नयाँ संक्रमित मोरङमा पनि भेटिन थालेका छन्।
भारतमा कोरोनाको संक्रमण पुनः देखा पर्दै गएसँगै त्यसको असर सीमा जोडिएको मोरङका विभिन्न पालिकामा पनि परेको हुनसक्ने आशंका गरिएको छ।
कोशी अस्पताल विराटनगरमा मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले विराटनगर महानगरपालिकामा कोरोना परीक्षण गर्दा नयाँ संक्रमित देखिन थालेको बताए।
डा. दासले हाल देखिएको संक्रमण कोरोनाको दोस्रो चरणको हुनसक्ने बताए। खुल्ला सीमा नाका भएकाले भारतबाट सहजै रुपमा संक्रमण भित्रन सक्ने बताएका डा. दासले सतर्कता नअपनाए अवस्था जटिल हुन सक्ने बताए।
जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताका अनुसार पछिल्लो केही दिनयता मोरङमा १० जनामा कोरोना संक्रमण देखिएको छ।
चैत्र ५ गतेदेखि हालसम्म विराटनगरमा मात्रै ६ जनामा संक्रमण देखिएको डा. मेहताले जानकारी दिए। त्यसैगरि, बाँकी तीनजना सुन्दरहरैंचा नगरपालिका र १ जना पथरीशनिश्चरे नगरपालिकाबाट रहेको उनले बताए।
महानगरपालिकामा पछिल्लो केही महिना यता संक्रमण पुष्टि भएको थिएन। तर, हाल संक्रमण देखिएका ६ जना मध्ये ४ जना पुरुष र २ जना महिला रहेका छन्।
प्रदेश १ मा चैत ५ गते ८ जनामा सङ्क्रमण देखिएको थियो। जसमा ३ जना विराटनगरमा रहेका थिए। त्यसैगरि, चैत ६ गते विराटनगरमा थप १ जनामा संक्रमण पुष्टि भएको थियो। विराटनगरमा ४ जनामा संक्रमण देखिदाँ प्रदेशभर ६ जनामा पोजिटिभ देखिएको थियो।
त्यसैगरि, चैत्र ८ गते विराटनगरमा १ सहित प्रदेशमा २ जनामा कोरोना पुष्टि भएको छ। भारतसँग संक्रमितहरुको यात्रा जोडिएको हुदाँ कोरोनाको नयाँ भेरियन्ट हुन सक्ने आशंका गरिएको छ।
भारतमा दोस्रो चरणको संक्रमण देखिएसँगै सीमा क्षेत्र विराटनगरमा त्यसको प्रभाव परेको हुनसक्ने अनुमान गरिएको छ। तर यसको पूर्ण परीक्षण गरिएको छैन।
कोरोना संक्रमण कम हुँदै गएपछि विराटनगर महानगरपालिकाले यसअघि सञ्चालनमा राखेको पीसीआर नमूना परीक्षणको कार्य समेत बन्द रहेको छ।