चैत १५, २०७८ मंगलबार

कञ्चनपुर । जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ कलुवापुरमा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रसूती कक्ष(बर्थिङ सेन्टर)को उद्घाटन गरिएको छ । सोमवार एक कार्यक्रमका सुदूरपश्चिम प्रदेश सभा सदस्य महेशदत्त जोशी र नगर प्रमुख दिलबहादुर ऐरले संयुक्त रूपमा प्रसूती कक्षको उद्घाटन गरे ।


नगर प्रमुख ऐरले प्रसूती सेवालाई प्रभावकारी बनाउनका लागि नगरपालिकाले आवश्यक औजार, उपकरण र दक्षजनशक्तिको व्यवस्था गरेको बताए । त्यहाँ प्रसूती सेवासँगै केन्द्रबाट खोप सेवा, प्राथमिक उपचार सेवा, परिवार नियोजन सेवा, प्रसूती पूर्व र प्रसूती सेवापछिको सेवा उपलब्ध हुनेछ । प्रसूती कक्ष सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा रु २५ लाखको लागतमा निर्माण गरिएको छ ।

सुदूरपश्चिम प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयको चालू आवको स्वीकृत कार्यक्रमअनुसार आधारभूत स्वास्थ्य सेवा केन्द्रको रु २० लाख ६ हजारको लागतमा माथिल्लो तलाको भवन निर्माण गर्नका लागि ठेक्का प्रकृया अगाडि बढाइएको छ । यसैगरी, सोही मन्त्रालयको रु १० लाख तीन हजारको लागतमा प्रसूती कक्षका लागि स्नान गृहसहितको शौचालय निर्माणका लागि कार्य अगाडी बढाइएको छ ।