नेपालमार्ग, काठमाडौँ । नेपाल जनस्वास्थ्य संघले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई ध्यानाकर्षण पत्र बुझाएको छ । जनस्वास्थ्यकर्मीहरूको मनोबल उच्च बनाइ समग्र स्वास्थ्य क्षेत्रको सुधार र समुचित वृत्तिविकासका लागि विभिन्न मागहरू राख्दै आइतबार संघको टोलिले मन्त्री खतिवडालाई उक्त पत्र बुझाएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका निकायहरूको कार्य विश्लेषणबमोजिम तयार पारिएको जनस्वास्थ्य विज्ञहरूको एघारौँ तहको पदहरूमा सही व्यक्तिलाई जिम्मेवारी दिइनुपर्ने, स्थानीय तहहरूमा समग्र स्वास्थ्य व्यवस्थापनका लागि जनस्वास्थ्य अधिकृतको पद सिर्जना गरी लोकसेवाबाट पदपूर्ति गरिनुपर्ने र सोभन्दा माथिका पदहरू संघीय सरकारअन्तर्गत राखी आवश्यकताअनुसार खटनपटन र व्यवस्थापन गरिनुपर्ने माग राखेको संघका अध्यक्ष वसन्त अधिकारीले बताएका छन् ।
नागरिकको स्वास्थ्य स्थितिलाई अधिकतम् तहमा पुर्याउन जनस्वास्थ्य नीति निर्माण, योजना तर्जुमा, मुल्याङ्कन र अनुसन्धान गर्ने कार्यहरूमा सल्लाह सुझाव र सहयोग प्रदान गर्न तथा जनस्वास्थ्य व्यवसायीहरूको पेशागत हकहितका लागि वि.सं. २०४७ सालदेखि संघ क्रियाशील छ ।