कञ्चनपुर । स्वास्थ्य कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत शिबराज सुनारले आफ्नी श्रीमती रेखा सुनारलाई घरमै बसाएर सरकारी तलब खुवाइरहेकाे पाइएको छ ।
यसअघि पनि प्रमाण पत्र नहुँदै स्टाप नर्सको जागिर खुवाएका थिए । २०७७ साल माघ १० गते स्वास्थ्य कार्यालयले आत्महत्या रोकथाम तथा विद्यालय मानसिक स्वास्थ्य कार्यक्रम अन्तरगत आवेदन खुला गरेको थियो । त्यसमा स्वास्थ्य कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख सुनारले आफ्नी श्रीमतीलाई भर्ना गरेर शुक्लाफाँटा कार्यक्षेत्र हालेका थिए । उनको कार्यक्षेत्र शुक्लाफाँटा नगरपालिका रहेको भए पनि उनी भने कहिलै शुक्लाफाँटा नगएको जनस्वास्थ्य कार्यालय श्रोतबाट जानकारी प्राप्त भएको छ ।
शुक्लाफाँटाका विद्यालयमा गरिने तालिम पनि जनस्वास्थ्य कार्यालयमा गर्ने गरिएको र कार्यालयमै हाजिर लगाएर तलब खाने गरेको श्रोतको दाबी छ ।
रेखा सुनार कार्यालय प्रमुख सुनारसँगै जनस्वास्थ्य कार्यालयको आवासमा बस्दै आएकी छिन् । यसअघि पनि शिवराज सुनारले २०७६–७७ मा सूचनामा उल्लेख गरेको भन्दा बाहिर गएर आफ्नी श्रीमतीलाई जागिर खुवाएका थिए । कर्मचारी आवश्यक्ताको आवेदनमा Implant तथा IUCD तालिम प्राप्त भएको हुनुपर्ने माग भए पनि IUCD तालिम नलिएकी आफ्नी श्रीमतीलाई निवेदन दिन लगाई जागिर खुवाएका थिए । तेतिबेला आफ्नो प्रमाणपत्र नआइपुगेको र पछि पुग्ने भनेर आवेदन गर्न पठाएका थिए ।
कार्यालय प्रमुख सुनारले कार्यालयमा आर्थिक हिनामिना गर्ने गरेको पनि पाइएको छ । धेरैजसो समय घुम्न जाने र आएर हाजिर लगाउने गरेको पाइएको छ । गत वर्ष मुस्ताङ घुम्न जाँदा पनि सरकारी गाडीको दुरूपयोग गर्दै बिदा नलिइ घुम्न गएका थिए ।
कोरोना महामारीले जिल्ला आक्रन्त भइरहेका बेला कार्यालय प्रमुख सुनार भने जिल्लाबाहिर रहेको जनस्वास्थ्य कार्यालय स्रोतको भनाइ छ । यस बारेमा जनस्वास्थ्य कार्यालय प्रमुख शिवराज सुनारले आफू बिदा स्वीकृति लिई गएको बताएका छन् ।