नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सङ्क्रमण बढ्दै गएको छ। यसको सङ्क्रमण बढेसँगै फेरि लकडाउन होला कि न होला? भन्ने प्रश्नले सबैको मनमा आशङ्का उत्पन्न गरेकाे छ।
ओमिक्रोन फैलिन सुरु भएसँगै आम सर्वसाधारणमा पुनः लकडाउन हुने त हैन नि? भन्ने त्रास पनि कायमै छ। २०७६ साल चैतदेखि सुरु भएको लकडाउनमा सर्वसाधरणले धेरै दुःख कष्ट भागेका थिए। त्यसले गर्दा पनि अहिले यो प्रश्नले सबैलाई सताइरहेको छ।
‘बल्ल व्यवसायले गति लेला जस्तो भएको थियो। फेरि लकडाउन होला भन्ने त्रासले सताएको छ,’ भन्दै न्याउँरो अनुहार लगाएर गोठाटारका फर्निचर पसले शुक्र तामाङले दुखेसो पोखे। उनको मात्र हैन, आम सर्वसाधरणमा फेरि लकडाउन होला की नहोला भन्ने अन्यौलता छाएको छ। सरकारले यसबारे प्रष्ट धारणा त राखेको छैन। तर उसले तयारी भने थालेको छ।
कोरोना संक्रमणको जोखिम बढेसँगै काठमाडौं उपत्यकामा स्वास्थ्य सतर्कता र पूर्वतयारीका लागि काम अघि बढेको छ। कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र(सीसीएमसी)को हिजो आइतबार बसेको बैठकले सरकारलाई दिएको सिफारिस अनुसार माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। तत्पश्चात् सर्वसाधरणमा फेरि लकडाउन हुन्छ कि भन्ने चिन्ताले सताएको हो।
शुक्रबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको सीसीएमसी बैठकमा स्मार्ट लकडाउनबारे छलफल भएको स्वास्थ्य मन्त्री विरोध खतिवडाले बताए।