पुस ८, २०७८ बिहिबार

सरकारले छिट्टै कोरोनाविरुद्धको बुस्टर डोज दिने तयारी गरेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अनुमति दिए पुस अन्तिमदेखि बुस्टर डोज दिने गरी सरकारले तयारी गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले अनुमति पाएको खण्डमा छिट्टै बुस्टर डोज दिन सरकार तयारी अवस्थामा रहेको बताए।

उनले बुस्टर डोज सुरू गर्दा पहिलो चरणमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई लगाइने र विस्तारै वृद्धवृद्धा, बालबालिका हुँदै सबै नागरिकलाई लगाइने जानकारी दिए।

केही समयअघि राष्ट्रिय खोप सल्लाहकार समितिले आधा जनसंख्यालाई दुवै डोज खोप दिएपछि बुस्टर डोज दिन सकिने सुझाव दिएको थियो। 

नेपालमा स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनरले दुवै डोज लगाएको समय एक वर्ष पुग्न लागेकाले पनि बुस्टर डोजको आवश्यकता परेको विज्ञहरुको भनाइ छ।

सरकारले बुस्टर डोज सहित नियमित खोप कार्यक्रम पनि तीव्र रुपमा अगाडि बढाउने जनाएको छ।

पछिल्लो समय सरकारले १८ वर्ष र माथि उमेर समूहका लागि कोभिशिल्ड र भेरोसेल खोप र १८ वर्ष मुनिका उमेर समूह ९१२–१७० का लागि फाइजर र मोडर्ना खोप लगाउँदै आएको छ। 

मन्त्री खतिवडाले १२ देखि १७ वर्षका बालबालिकालाई आफू अध्यन गर्ने वा आफूलाई नजिक पर्ने विद्यालयमा रहेको खोप केन्द्रमा गई खोप लगाउन अनुरोध गरे।  ‘ओमिक्रोन’ भेरियन्टलाई फैलन नदिन सरकारले विभिन्न सुरक्षात्मक उपाय कार्यान्वयनमा ल्याएको उनले बताए। 

सरकारले दक्षिण अफ्रिकालगायत विभिन्न नौ देशबाट मङ्सिर १६ गते राति १२ बजेदेखि नेपाल प्रवेश अनुमति नदिने निर्णय गरेको छ। यस्तै अन्तरराष्ट्रिय हवाई तथा स्थल नाकामा यात्रुहरूको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ। एन्टिजेन परीक्षणमा पोजिटिभ फेला परेकाहरुका थप नमूना सङ्कलन गरी जीन सीक्योन्सिङ  गर्ने गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।