महेश सिंह/सिरहा लहान/ ६ पुस- तराई मधेसमा मलको सहज उपलब्ध नहुँदा किसानहरू मर्कामा परेका छन्।धानबाली भित्र्याएपछि सिरहाको किसानलाई यतिखेर हिउँदे बाली अर्थात् तोरी र गहुँ छर्ने चटारो रहेको छ।
रासायनिक मलखादको अभावमा किसानहरूलाई तोरी तथा गहुँ खेती गर्न समस्या भएको छ। सिरहाको विष्णुपुर गाउँपालिकास्थित साना किसानका अध्यक्ष सरोजकुमार यादवले सिरहालगायत तराई मधेसका सम्पूर्ण जिल्लाका किसानहरूलाई मल सहज उपलब्ध गराउन केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग माग गरेका छन्।
किसान मलखाद नपाएर छटपटाइ रहेको अवस्थामा सिरहामा एक सहकारी संस्थाले अनुदानमा पाएको रसायनिक मल अन्यत्र बिक्री गरेको फेला परेपछि किसानहरूले विरोध प्रदर्शन गरेका छन्।सरकारबाट अनुदानमा पाएको मलखाद किसानलाई नदिई बढी पैसा कमाउने उद्देश्यले अन्यत्र बिक्री गरेको भन्दै किसानहरू आक्रोशित भएका छन्।