पुस २, २०७८ शुक्रबार

काठमाडौं, २ पुस । नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री मीनेन्द्र रिजालले स्वास्थ्य उपचारका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । नेता रिजालले आज सामाजिक सञ्जालमार्फत मोरङ्ग क्षेत्र नं २ का नागरिकहरूलाई स्वास्थ्य उपचारको लागि उक्त सहयोग गर्ने घोषणा गरेका हुन् ।

रिजालले आमा–बुवाको नामबाट पुण्यश्री प्रतिष्ठान सुरु गर्ने निर्णय गरेको पनि जनाएका छन् । उनी मोरङ्ग २ बाट २०७४ सालको प्रतिनिधिसभाको निर्वाचित भएका थिए ।

रिजालले नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीमा पराजित भएसँगै बिहीबार (हिजो) रक्षामन्त्रीबाट राजीनामा दिएका थिए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अलि अघि निर्णय गरेर पनि सार्वजनिक गर्न पाएको थिइन; फुर्सत छ, त्यसैले आज नै भनौं। मोरङ्ग क्षेत्र नं २ का नागरिकले गुन लगाउनु भएको छ; आमा–बुवाले सामर्थ्य विरासतमा छोडेर जानु भएको छ। त्यसैले मोरङ्ग २ का नागरिकको स्वास्थ्य उपचारमा प्रयोग गर्न पाउने गरी मैले रू ५० लाख अनुदान गर्दै उहाँहरूको नाममा पुण्यश्री प्रतिष्ठान सुरू गर्ने निर्णय गरेको छु।’