मंसिर १, २०८३ मंगलबार

रासस

गुल्मी, १ मङ्सिरः हरियाली जङ्गल, शान्त वातावरण र मनोरम प्राकृतिक दृश्यले रेसुङ्गा पार्क आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । रेसुङ्गाको गर्जुरा क्षेत्रमा पार्क निर्माण भएपछि गुल्मीमा पर्यटकको चहलपहल बढेको हो ।

    सदरमुकाम तम्घासदेखि करिब तीन किलोमिटर दूरीमा रहेको पार्कसम्म पुग्ने सडक कालोपत्र भएपछि आवागमन सहज भएको छ ।  सार्वजनिक बिदाका दिन परिवारसहित घुम्न र वनभोज खान आउने पर्यटकको यहाँ भीड लाग्ने गरेको छ । बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि उपयुक्त गन्तव्य बनेको पार्क युवापुस्ताका लागि तस्बिर तथा भिडियो खिच्ने र सामाजिक सञ्जालमा सामग्री राख्ने आकर्षक स्थलसमेत बनेको छ ।

    गुल्मी घर भई रोजगारी तथा अध्ययनका सिलसिलामा विदेशमा रहेका नेपाली पनि बिदामा घर फर्किएका बेला पार्क पुग्ने गरेका छन् । रेसुङ्गा नगरपालिका–१, तम्घास घर भई हाल फिनल्यान्डमा बस्दै आउनुभएका मिलन खराल पार्क निर्माणपछि पहिलो पटक घुम्न आएको बताउनुहुन्छ । सामाजिक सञ्जालमा पार्कका तस्बिर र भिडियो देखेर आकर्षित भएको उल्लेख गर्दै उहाँले प्रत्यक्ष अवलोकन गर्दा यहाँको संरचना र प्राकृतिक वातावरण निकै राम्रो लागेको बताउनुभयो ।

    त्यसैगरी, मुसिकोट नगरपालिका–५ घर भई हाल लन्डनमा रहनुभएका फणीन्द्र भट्टराईले पनि घर बिदामा आएका बेला पार्क घुम्न पाउँदा खुसी लागेको बताउनुभयो । पार्कका संरचना र हरियाली वातावरणले आफूलाई आकर्षित गरेको उहाँको भनाइ छ ।

    मुसिकोट नगरपालिका–३ घर भई हाल हङकङमा रहनुभएकी शान्ति केसीले पनि गाउँ फर्किएका बेला पहिलो पटक पार्क घुमेको बताउनुभयो । जन्मथलोमा सुन्दर पर्यटकीय पूर्वाधार निर्माण भएको देख्दा खुसी लागेको उल्लेख गर्दै उहाँले पार्कमा प्रकृतिसँग रमाउँदै तस्बिर तथा भिडियो खिचेको अनुभव सुनाउनुभयो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र रेसुङ्गा नगरपालिकाको साझेदारीमा रु छ करोडभन्दा बढी लगानीमा पार्क निर्माण गरिएको हो । निर्माण सम्पन्न भएको छोटो समयमै पार्कले पर्यटक आकर्षित गर्न थालेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार हालसम्म ४० हजारभन्दा बढीले पार्कको अवलोकन गरिसकेका छन् । प्रवेश शुल्कबाट करिब रु १५ लाख राजस्व सङ्कलन भएको छ ।

    नगरपालिकाले पार्क प्रवेशका लागि टिकट प्रणाली लागू गरेको छ । सर्वसाधारणका लागि रु ५०, ज्येष्ठ नागरिक, विद्यार्थी तथा बालबालिकाका लागि रु २५ र विदेशी नागरिकका लागि रु १०० शुल्क निर्धारण गरिएको छ । पार्कमा भ्यूटावर, पिङ, वनभोजस्थल, फोटो खिच्ने स्थान, बालबालिकाका लागि खेल क्षेत्र, पोखरी र पुललगायत संरचना निर्माण गरिएका छन् ।

    रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले पार्क निर्माणले जिल्लाको पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थपेको बताउनुभयो । रेसुङ्गा क्षेत्रको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक महत्व उजागर गरी पर्यटक आकर्षित गर्ने उद्देश्यले पार्क निर्माण गरिएको उहाँको भनाइ छ । पार्कले पर्यटकीय गतिविधि बढाउनुका साथै स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग पु¥याएको प्रमुख पन्थीले बताउनुभयो ।

    नगरपालिकाले रेसुङ्गा क्षेत्रमा थप पर्यटन पूर्वाधार निर्माणलाई पनि निरन्तरता दिएको छ । पर्यटन प्रवद्र्धनका लागि रु एक करोडभन्दा बढी लगानीमा रेसुङ्गाको नुनामारेदेखि पार्कसम्म जिपलाइन र स्काई साइकलिङजस्ता साहसिक तथा मनोरञ्जनात्मक पूर्वाधार निर्माण गरिएको छ । धार्मिक, ऐतिहासिक र प्राकृतिक महत्व बोकेको रेसुङ्गा क्षेत्रमा थपिँदै गएका पूर्वाधारले गुल्मीको पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
–––