महोत्तरी, २९ कात्तिक: लोकआस्थाको महापर्व छठका व्रतालु आज कात्तिक शुक्ल षष्ठी तिथिको निराहार व्रतमा छन् । शनिबार मध्यरातपूर्व ‘खरना’ विधि सम्पन्न गरेसँगै व्रतालुको निराहार व्रत सुरु भएको हो । यसअघि गत शुक्रबार कात्तिक शुक्ल चौथी तिथिमा ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका व्रतालुले आज निराहार व्रतकै दिन साँझ अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यो पर्व अब भोलि बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिएपछि समापन हुनेछ ।
मधेशको मिथिला क्षेत्रमा छठ पर्वमा कात्तिक शुक्ल पञ्चमी तिथिको ‘खरना’ मा दिनभरि उपवास रहेर राती सख्खरमा पकाइएको खिर इष्टदेवलाई चढाएर खाएपछि व्रतालुको निराहार व्रत सुरु हुने चलन छ । यसअनुसार शनिबार मध्यरातपूर्व ‘खरना’ सम्पन्न भएसँगै व्रतालुले निराहार उपवास सुरु गरेका हुन् । भगवान् सूर्य र सूर्य पत्नी षष्ठी (छठी) देवीको आराधना गरिने चारदिने यो पर्वमा मिथिलाका जनजन परिचालित हुने गर्छन् ।
पर्वमा आज साँझ अस्ताउँदो सूर्य र छठीदेवीलाई अघ्र्य दिनेबेला अर्पण गर्न घरघरै ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार धमाधम तयार गरिँदैछन् । अघ्र्य दिने क्रममै व्रतालुले ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार र केरा तथा अन्य फलपूmल सूर्यदेवलाई देखाउने गरिन्छ । यसअघि जटासहितको नरिवल व्रतालुले सूर्यलाई देखाउँछन् । मिथिलामा अस्ताउँदा सूर्यलाई अघ्र्य दिने यो खास विधिलाई ‘सझियाअरख’ वा ‘सझियाघाट’ भन्ने गरिन्छ ।
पर्वमा ‘सझियाअरख’ सम्पन्न गरेर जलाशयमा निर्मित घाटमै राती बसेर छठीदेवी र सूर्य महिमाका गीत गाइन्छन् । बिहान सूर्योदय हुन एक घडीपूर्व नै कम्मरसम्म डुब्ने पानीमा चोबलिएर सूर्यदेवलाई चाँडै उदाइदिन प्रार्थना गरिन्छ ।
सूर्योदयसँगै अस्ताउँदो सूर्यलाई देखाइएका प्रसाद सामग्री अघ्र्यसँगै फेरि देखाइएपछि छठ सम्पन्न गरिने परम्परा छ । व्रत समापनको यो विधिलाई मिथिलामा ‘भोरका अरख’ वा ‘पारन’ पनि भनिन्छ । सूर्य र छठीदेवीको उपासनाको यो व्रतको प्रभावले मनोवाञ्छित फल पाइने, सुखसन्तोष प्राप्त हुने, सन्तानबाट खुसी मिल्ने र सबै रोगबाट छुटकारा पाइने मैथिल जनविश्वास छ ।