कात्तिक २९, २०८३ आइतबार

जनकपुरधाम, २९ कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धनुषाको धनुषाधामस्थित धनुषाधाम वनस्पति उद्यानमा आज वृक्षरोपण गर्नुभएको छ ।

    छठ पर्व मनाउन जनकपुरधाम आउनुभएका सभापति लामिछानेले धनुषाधाम मन्दिरमा पूजाअर्चना गरेपछि वनस्पति उद्यान पुगेर वृक्षरोपण गर्नुभएको हो । धनुषाधाम वनस्पति उद्यानका प्रमुख मोहम्मद ताहिर अलीका अनुसार उद्यानभित्र रहेको नक्षत्र बाटिकामा उहाँले गुलर जातको बिरुवा रोप्नुभएको हो ।

    वृक्षरोपण कार्यक्रममा प्रतिनिधिसभा सदस्यद्वय पुरुषोत्तम यादव र रामविनय यादव तथा रास्वपाका नेता एवं कार्यकर्ताको उपस्थिति थियो ।

    यसैबीच, सभापति लामिछाने आजै छठ पर्व मनाउन जनकपुरधामस्थित गङ्गासागर पोखरीमा सहभागी हुने रास्वपाका नेता अम्बुप्रसाद साहले जानकारी दिनुभयो । 
–––