कात्तिक २७, २०८३ शुक्रबार

काठमाडौँ, २७ कात्तिकः जुवाको खालबाट भक्तपुर , रूकुम पश्चिम र सुनसरी जिल्लाबाट २३ व्यक्ति पक्राउ परेका छन् । 

भक्तपुर सूर्यविनायक नगरपालिका–७ गुण्डुबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय सुनिल घिमिरेसमेत नौ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु दुई लाख ३६ हजार १०० र छ बुक ताससहित पक्राउ गरेको हो । 

रूकुम पश्चिम, चौरजहारी नगरपालिका–२ स्थित बसपार्कबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१ बस्ने ३५ वर्षीय दीपक नेपालीसमेत तीन जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु ५६ हजार ९९० र एक बुक ताससहित पक्राउ गरेको हो । 

सुनसरी, धरान उपमहानगरपालिका–११ सेवालुङ चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–१६ जोरसखुवा बस्ने ३३ वर्षीय सोम तामाङसमेत ११ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु पाँच लाख ९२ हजार ५०० र १२ बुक ताससहित पक्राउ गरेकोे छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएका छ ।