कात्तिक २३, २०८३ सोमबार

काठमाडौँ, २३ कात्तिक : तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज गाईको पूजा आराधना गरिएको छ ।

     पूजाका लागि स्थानीय जातका गाई नै हुनुपर्ने शास्त्रीय विधि रहेको छ । स्थानीय जातका गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि रही आएको छ । हाम्रो समाजमा गाईलाई माताका रुपमा पूजिन्छ । 

    गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गर्ने परम्परा सुरु भएको हो । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले प्रमाणित गरेको छ । 

गाईलाई राष्ट्रिय जनावरका रुपमा सम्मान गरिन्छ । क्रस गरिएका जर्सी गाईका दुधमा भने त्यस्तो गुण नहुने  वैज्ञानिक अध्ययनले पुष्टि गरेको गोव्रती योगी सोमराजले जानकारी दिनुभयो ।

    गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद्  प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । 

   आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन (डोरो) गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा आज गाईको पुच्छरमा डोरो बाँधियो ।