कात्तिक २१, २०८३ शनिबार

गण्डकी, २१ कात्तिक : पोखराको लेकसाइड क्षेत्रमा पछिल्लो समय बढ्दै गएका अवैध गतिविधि नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय, कास्कीले सञ्चालन गरेको ‘अपरेसन सभ्यता’ अन्तर्गत गएराति ३१ जनालाई नियन्त्रणमा लिइएको छ ।

    झैझगडा, आपसी विवाद, पर्यटकलाई दुव्र्यवहार गर्ने, अनैतिक तथा अवाञ्छित गतिविधिका कारण शान्ति सुरक्षामा खलल पुगेको जनगुनासो बढेपछि प्रहरीले यही कात्तिक १८ गतेदेखि विशेष प्रहरी अपरेसन सुरु गरेको थियो ।

    गए राति पोखरा महानगरपालिका–६ स्थित लेकसाइड क्षेत्रबाट पक्राउ परेका ३१ जनामध्ये यात्रुलाई दुःख हैरानी दिने तीन जना, मोबाइल चोरेर भागेका एक जना, झण्डीबुर्जा खेलाउने एक जना, मादकपदार्थ सेवन गरी होहल्ला गर्दै सवारीसाधन चलाउने २५ जना र अनैतिक गतिविधि गर्ने एक जना रहेको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो । 

    जाँचका क्रममा ५८ वटा सवारीसाधनलाई नियन्त्रणमा लिई कारबाही गरिएको प्रहरीले जनाएको छ । जसमध्ये ३८ वटा सवारीसाधनका चालकलाई मादकपदार्थ सेवन गरेको अवस्थामा र नौ सवारीचालकलाई अन्य ट्राफिक कारबाही गरिएको प्रनाउ पासवानले बताउनुभयो । ११ वटा सवारीसाधनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।

    नजिकिएको तिहार, छठलगायत पर्वलाई सुरक्षित र सभ्य तवरमा मनाउने वातावरण निर्माणका लागि प्रहरी सक्रिय रहेको उहाँले बताउनुभयो । “लेकसाइडको पर्यटकीय छविमा आँच आउने गरी अवैध गतिविधि बढेको पाइएपछि त्यसलाई नियन्त्रण गर्न अपरेशन सभ्यता सञ्चालन गरिएको हो”, प्रनाउ पासवानले भन्नुभयो, “यसअघि गत १८ गते राति पनि लेकसाइड क्षेत्रमा अवैध गतिविधिमा संलग्न २१ जनालाई नियन्त्रणमा लिई कारबाही गरिएको थियो ।”

    कास्की प्रहरीले केही महिनाअघि पनि रातको समयमा होहल्ला गर्ने, सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याउने, गाँजालगायत अवैध लागुऔषध सेवन गर्ने, जुवा खेलाउने जस्ता अवैध गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिन ‘स्विप अपरेसन’ चलाएको थियो ।

    यस्ता विशेष अप्रेसनका क्रममा पक्राउ परेका मदिरा र गाँजाजन्य पदार्थ सेवन गरेकालाई सम्झाइबुझाइ अभिभावकलाई जिम्मा लगाउने गरिएको प्रहरीले जनाएको छ । आपराधिक पृष्ठभूमि भएका, पटके रुपमा यस्ता क्रियाकलापमा संलग्न र जाँचका क्रममा प्रहरीलाई उल्टै दुव्र्यवहार गर्ने व्यक्तिलाई अदालतमा मुद्दा दर्ता गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने गरिएको छ ।