गण्डकी, २० कात्तिकः पोखरा प्रज्ञा प्रतिष्ठानले ‘लेख्छ पोखरा’ अभियान आरम्भ गरेको छ । नयाँ पुराना कवि र लेखकको सिर्जना यात्रामा सघाउने उद्देश्यले उक्त अभियान सुरु गरिएको प्रतिष्ठानका सदस्यसचिव जीवन दाहालले बताउनुभयो ।
उहाँका अनुसार अभियानको पहिलो चरणअन्तर्गत हरेक वर्ष पाण्डुलिपी आव्हान गरी कम्तीमा तीन लेखकका उत्कृष्ट पाण्डुलिपिलाई पुस्तकका रुपमा छापिनेछ । “पुस्तक विमोचनका दिनमा लेखकलाई पुरस्कार पनि प्रदान गरिनेछ”, उहाँले भन्नुभयो, “स्रष्टाहरुको लेखन यात्रामा सहयात्री बन्न प्रतिष्ठानले नयाँ पहल थालेको हो ।”
‘लेख्छ पोखरा’ अभियान–२०८३ का लागि प्रतिष्ठानले गत बुधबार सार्वजनिक सूचनामार्फत पाण्डुलिपिसमेत आह्वान गरिसकेको सदस्यसचिवले दाहालले बताउनुभयो । त्यसका लागि विभिन्न मादपण्ड तोकिएको उहाँको भनाइ छ ।
काव्य, आख्यान, गैरआख्यान, दर्शन, अनुसन्धानलगायत जुनसुकै विधामा लेखिएको पाण्डुलिपि छनोटका लागि बुझाउन सकिने प्रतिष्ठानले जनाएको छ । पाण्डुलिपि बुझाउने लेखक जुनसुकै ठाउँको भएपनि पोखरामा रहेर सिर्जनाकर्म गरिरहेको हुनुपर्ने प्रावधान तोकिएको छ ।
बुझाइएका पाण्डुलिपिमध्ये छनोट समितिले उत्कृष्ट ठहराएका तीन पाण्डुलिपिलाई प्रतिष्ठानले प्रकाशन गर्नेछ । कृति विमोचनको जिम्मेवारी पनि प्रतिष्ठानकै रहने जनाइएको छ । विमोचनका अवसरमा पहिलोपटक पुस्तक प्रकाशन गरेको लेखकलाई पोखरा प्रज्ञा नवोदित पुरस्कार र पहिले नै पुरस्कार प्रकाशन गरिसकेका लेखक भएमा पोखरा प्रज्ञा पुरस्कार प्रदान गरिने भएको छ ।
दुवै पुरस्कारको राशि रु ३० हजार रहने सदस्यसचिव दाहालले जानकारी दिनुभयो । छापिएको पुस्तक सङ्ख्याको ५० प्रतिशत पुस्तक पोखरा प्रज्ञा प्रतिष्ठानमा राख्ने र बाँकी पुस्तक लेखकलाई नै बुझाइने उहाँले बताउनुभयो ।
आगामी माघ १८ गतेभित्र पुस्तकको पाण्डुलिपि बुझाउने अवधि निर्धारण गरिएको छ । ‘लेख्छ पोखरा’ अभियानको दोस्रो चरणमा लेखनसम्बन्धी कार्यशाला सञ्चालन गरिने प्रतिष्ठानले जनाएको छ ।