विराटनगर, २० कात्तिकः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालय निर्माण क्षेत्रको आज अनुगमन गर्नुभएको छ ।
सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ मा रहेको जग्गाको स्थलगत अवलोकन गर्दै उहाँले आगामी दिनमा विश्वविद्यालयमा गर्न सकिने कामका विषयमा समेत छलफल गर्नुभएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिनुभयो ।
अनुगमनपछि जिल्ला समन्वय समितिको कार्यालयमा विश्वविद्यालयको गुरुयोजनाबारे प्रस्तुति तथा छलफलसमेत भएको जानकारी दिइएको छ ।
मुख्यमन्त्री कार्कीले विशिष्ट प्रकृतिको उक्त विश्वविद्यालयलाई संसारकै उत्कृष्ट विश्वविद्यालयका रूपमा विकास गर्न सकिने बताउनुभयो । उहाँले विश्वविद्यालयलाई यथाशक्य शीघ्र सञ्चालनमा ल्याउन प्रदेश सरकारले आफ्नो सीमित स्रोतसाधनले भ्याएसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विश्वविद्यालयका लागि खाँदबारी नगरपालिका–९ र भोजपुरको षडानन्द नगरपालिका–६ मा गरी ४१६ रोपनी जग्गा उपलब्ध रहेको छ । उक्त जग्गामा भौतिक संरचना निर्माणको काम यसै वर्ष सुरु गर्ने गरी तयारी गरिएको छ ।
विश्वविद्यालयको कामलाई अगाडि बढाउन बृहत् गुरुयोजनासमेत निर्माण गरिसकिएको विश्वविद्यालयका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अर्जुनबहादुर कार्कीले जानकारी दिनुभयो ।
उक्त विश्वविद्यालय स्थापना नेपालको मौलिक चिकित्सा पद्धति आयुर्वेद, योग, ध्यान, हिमाली चिकित्सा, जडीबुटी तथा वैकल्पिक चिकित्साको अध्ययन, अध्यापन र अनुसन्धानलाई प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको हो । विश्वविद्यालयको नाम समाज सुधारक एवं महिला अधिकारकी अग्रणी अभियन्ता तथा क्रान्तिकारी योगमाया न्यौपानेको सम्मानमा राखिएको हो ।
उहाँको जन्म भोजपुरमा भएको थियो । तत्कालीन राणा शासनको समयमा पनि सामाजिक विभेद, अन्याय, कुरीति र लैङ्गिक असमानताविरुद्ध उहाँले सशक्त आवाज उठाउनुभएको थियो । उहाँको सामाजिक सुधारको अभियान र त्यागलाई राष्ट्रिय रूपमा सम्मान गर्ने उद्देश्य पनि विश्वविद्यालय स्थापनासँग जोडिएको छ ।
विश्वविद्यालय स्थापनाको अवधारणा आर्थिक वर्ष २०७०÷०७१ देखि अघि बढाइएको थियो भने आर्थिक वर्ष २०७३÷०७४ को सरकारको नीति तथा कार्यक्रममा विश्वविद्यालय स्थापनाको विषय समावेश गरिएको थियो ।
विसं २०७९ साउन २८ गते योगमाया आयुर्वेद विश्वविद्यालय ऐन, २०७९ जारी भएपछि विश्वविद्यालय स्थापनाले औपचारिक कानुनी आधार प्राप्त गरेको छ ।
विश्वविद्यालयको केन्द्रीय कार्यालय सङ्खुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटारमा छ । सरकारले उक्त विश्वविद्यालयका पदाधिकारी नियुक्त गरी कामलाई अगाडि बढाएको छ ।
उक्त विश्वविद्यालय नेपालको मौलिक ज्ञान, परम्परागत चिकित्सा प्रणाली र आधुनिक अनुसन्धानलाई एकीकृत गर्ने राष्ट्रिय महत्वपूर्ण शैक्षिक संस्था भएको कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले जानकारी दिनुभयो ।