कात्तिक १६, २०८३ सोमबार

राँझा (बाँके), १६ कात्तिक : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा (एमाले) का पूर्वकेन्द्रीय सल्लाहकार तथा लुम्बिनी प्रदेशसभाका पूर्वसदस्य बाबुराम गौतमको निधनले राजनीतिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनुभएको छ । 

गौतमको १३औँ दिनको पुण्यतिथिमा नेकपा (एमाले) बाँके जिल्ला कमिटीले आज बाँकेको खजुरा गाउँपालिका–२ स्थित गौतम निवासमा आयोजित श्रद्धाञ्जली सभामा मुख्यमन्त्री आचार्यले गौतमलाई सादगीपूर्ण जीवनशैली, निष्ठापूर्ण राजनीतिक यात्रा र जनतामाझ लोकप्रिय व्यक्तित्वका रूपमा स्मरण गर्नुभयो । 

जिल्ला पार्टीले एक सच्चा, इमानदार र कर्तव्यनिष्ठ अभिभावक गुमाएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले गौतमले अघि सारेका विचार र सिद्धान्तलाई आत्मसात् गर्दै अधुरा काम पूरा गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले गौतमप्रति सच्चा श्रद्धाञ्जली व्यक्त गर्ने माध्यम उहाँका विचार, सिद्धान्त र योगदानलाई व्यवहारमा निरन्तरता दिनु भएको बताउनुभयो । गौतम गुल्मीको थोर्गामा जन्मिएर बाँकेलाई कर्मथलो बनाउनुभएको थियो ।