काठमाडौँ, १६ कात्तिकः चीन र पाकिस्तान राजनीतिक तथा आर्थिक सम्बन्ध थप मजबुत बनाउन सहमत भएकाछन्।
चीनको कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ हाइशिङ पाकिस्तान भ्रमणमा रहेकाबेला दुबै देशबीच यस्तो सहमति भएको हो ।
चीनको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिअन्तर्गत अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाइशिङ तीनदिने औपचारिक भ्रमणका लागि पाकिस्तानको राजधानी इस्लामाबाद पुगेकाहुन । उनी मंगलबारसम्म पाकिस्तानमा रहनेछन् ।
इस्लामाबादस्थित विमानस्थलमा पाकिस्तानी सिनेटर अनुषा रहमान खान र विदेश मन्त्रालयका एसिया–प्रशान्त मामिलासम्बन्धी अतिरिक्त सचिव डा. मोहम्मद फैसलले उनलाई स्वागत गरेका थिए
पाकिस्तानका उपप्रधानमन्त्री एवं विदेशमन्त्री इशाक डारको निमन्त्रणामा उनी पाकिस्तान गएकाहुन् ।
यो भ्रमण इस्लामाबाद र बेइजिङबीच जारी उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक आदानप्रदानको निरन्तरताका रूपमा रहेको जनाइएको छ।
दुबै देशले सबै परिस्थितिमा कायम रहने रणनीतिक सहकार्यलाई थप सुदृढ बनाउने जनाएकाछन् ।
इस्लामाबादमा आयोजित विशेष अन्तरक्रिया कार्यक्रममा दुबै देशका प्रतिनिधिले आपसी सहकार्य र बलियो मित्रतामा जोड दिएका थिए ।
कार्यक्रममा दुवै देशबीचको राजनीतिक, आर्थिक तथा सांस्कृतिक सम्बन्ध विस्तारका विषयमा छलफल भएको हो।
कार्यक्रममा मन्त्री लिउ हाइक्सिङसहित पाकिस्तानका सिनेट अध्यक्ष सैयद युसुफ रजा गिलानी, खैबर पख्तुनख्वाका गभर्नर फैसल करिम कुन्दी तथा पाकिस्तानका लागि चिनियाँ राजदूत चियाङ चाइतोङलगायत सहभागी थिए ।
सोही अवसरमा पाकिस्तान–चाइना रिसर्च सेन्टर फर पार्टी एन्ड स्टेट गभर्नेन्सको उद्घाटनसमेत गरिएको छ। अनुसन्धान केन्द्रले दुवै देशका राजनीतिक दल तथा सामाजिक–आर्थिक क्षेत्रबीच अध्ययन, अनुसन्धान र अनुभव आदानप्रदानलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।