कात्तिक १३, २०८३ शुक्रबार

काठमाडौँ, १३ कात्तिकः प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्री, उहाँको सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संलग्नता नरहेको स्पष्ट पार्नुभएको छ ।

    सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उहाँले घटनाबारे प्रधानमन्त्री र उहाँको सचिवालयलाई पूर्वजानकारीसमेत नभएको बताउनुभएको छ ।

    घटनाबारे जानकारी पाएलगत्तै प्रधानमन्त्रीले पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न तथा सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरी धरपकड नगर्न सम्बन्धित निकायलाई निर्देशन दिइसक्नुभएको दाहालले उल्लेख गर्नुभएको छ ।

    यसैबीच, प्रेस काउन्सिल नेपालले शुक्रबार कार्यालय समयपछि सादा पोशाकका प्रहरीले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

    काउन्सिलले सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति असहमति वा पत्रकार आचारसंहितासम्बन्धी उजुरीको छानबिन गर्ने जिम्मेवारी आफूमा रहेको जनाउँदै प्रहरीलाई कानुनी प्रक्रिया अपनाउन आग्रह गरेको छ ।

    काउन्सिलका प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा प्रेस स्वतन्त्रताको संरक्षण र मर्यादित पत्रकारिताको प्रवर्द्धनमा प्रतिबद्धता व्यक्त गरिएको छ ।

    त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने र सञ्चारगृहमा छापा मार्ने कार्यप्रति विरोध जनाएको छ ।

    पार्टीका प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिमा यस्तो कार्य प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यविपरीत भएको जनाउँदै पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न माग गरिएको छ ।