नयाँदिल्ली, ११ कात्तिक (रासस): भारतले नोभेम्बर २० देखि २२ सम्म नयाँदिल्लीमा आयोजना हुने पहिलो सभ्यतागत संवाद मञ्चमा सहभागी हुन पाकिस्तानसहित साङ्घाई सहयोग सङ्गठन (एससीओ) का सबै १० सदस्य राष्ट्रलाई निमन्त्रणा दिएको छ । मञ्चको उद्देश्य सांस्कृतिक सम्बन्ध र आपसी समझदारी सुदृढ गर्नु हो ।
रक्षामन्त्री राजनाथ सिंहले अक्टोबर २० मा ताजिकिस्तानको दुशान्बेमा एससीओका सरकार प्रमुखहरूको परिषद्को बैठकलाई सम्बोधन गर्दै मञ्च आयोजना गर्ने घोषणा गर्नुभएको थियो । उहाँले ताजिकिस्तानसँगको ऐतिहासिक मित्रता र मध्य एसियाली देशहरूसँगको सम्बन्धको महत्त्व उल्लेख गर्दै सबै सदस्य राष्ट्रलाई सहभागी हुन आह्वान गर्नुभएको थियो ।
सिंहले एससीओको २५ वर्षे यात्राको समीक्षा गर्दै सदस्य राष्ट्रबीच सुरक्षा, सम्पर्क सञ्जाल र अवसर विस्तारका लागि सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीको क्षेत्रीय सुरक्षा र सहकार्य सुदृढ गर्ने आह्वान पनि स्मरण गर्नुभयो ।
रक्षामन्त्री सिंहले आतङ्कवादलाई शान्ति र विकासको गम्भीर खतरा बताउँदै त्यसविरुद्ध सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । आतङ्कवादले जनधनको क्षति गर्नुका साथै लगानी र व्यापारमा अवरोध पु¥याउने तथा युवालाई अवसरबाट वञ्चित गर्ने उहाँको भनाइ थियो । आतङ्ककारीलाई आर्थिक सहयोग, समर्थन वा आश्रय दिने संरचनाविरुद्ध दोहोरो मापदण्ड नराखी संयुक्त रूपमा अघि बढ्न उहाँले सदस्य राष्ट्रलाई आग्रह गर्नुभयो ।
बैठकमा पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार पनि सहभागी हुनुहुन्थ्यो । पाकिस्तानले सन् २०२६ सेप्टेम्बर १ मा सन् २०२६–२०२७ का लागि एससीओ राष्ट्रप्रमुख परिषद्को घुम्ती अध्यक्षता ग्रहण गरेको थियो ।
एससीओमा बेलारुस, चीन, भारत, इरान, कजाकिस्तान, किर्गिस्तान, पाकिस्तान, रुस, ताजिकिस्तान र उज्बेकिस्तान सदस्य छन् । भारत सन् २०१७ मा सङ्गठनको पूर्ण सदस्य बनेको थियो । अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्र तथा अन्य १५ राष्ट्र संवाद साझेदारका रूपमा आबद्ध छन् ।