बागमती, ६ कात्तिक : लगातारको वर्षासँगै गत असोज ११ गते जमिन चिराचिरा परेको मकवानपुरको बकैया गाउँपालिका–६ तल्लो ज्यामिरेका प्रभावित स्थानीयवासीले यस वर्षको दसैं अस्थायी आवासमै मनाएका छन् ।
यहाँस्थित गरगरे बस्तीका आठवटा घर जमिन चिरिएका कारण पूर्ण रुपमा क्षतिग्रस्त भएपछि स्थानीय प्रशासनले अस्थायी बासका लागि टेन्ट तथा पालहरू उपलब्ध गराएको थियो ।
पूर्ण क्षतिग्रस्तसहित यहाँका प्रभावित ८० घरधुरी स्थानान्तरणका लागि स्थानीय तहबाट जिल्लामा सिफारिससहित अनुुरोध गरिए पनि दसैं अघि बस्ती स्थानान्तरण हुन नसकेपछि प्रभावितहरूले अस्थायी आवासमा दसैं मनाएको वकैंया –६ का वडाध्यक्ष फूलमान भोम्जनले बताउनुुभयो ।
गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले यहाँका कतिपय स्थानमा १२ फिटसम्म जमिन भासिएको र दुई वर्गकिलोमिटर क्षेत्रको ठाउँ ठाउँमा जमिन चिराचिरा परेको जानकारी दिनुभयो ।
जमिन चिरा परेको सूचना प्राप्त हुने बित्तिकै यहाँका स्थानीयलाई अस्थायी रुपमा सुरक्षित स्थानमा सारिएको बताउँदै उहाँले प्रभावितका लागि तत्काललाई आवश्यक टेन्ट लगायतका सामाग्रीहरू उपलब्ध गराइएको बताउनुभयो ।