कात्तिक ६, २०८३ शुक्रबार

प्रेमनारायण भुसाल

काठमाडौँ, ६ कात्तिक (रासस): केही समयअघि कक्षा ७ मा अध्ययनरत विद्यार्थीले सोधेको प्रश्नले मलाई निकै गम्भीर भएर सोच्न बाध्य बनायो । एक जना प्रसिद्ध नेपाली साहित्यकारको कथा पढिरहेका थियौँ । करिब पाँच पृष्ठ लामो त्यस कथाले मानवीय संवेदनाको सूक्ष्म पक्षलाई कलात्मक ढङ्गले प्रस्तुत गरेको थियो । कथा पढिसकेपछि विद्यार्थीले सोधे, “सर, लेखकले यति लामो कथा किन लेखेका होलान् ? यो कुरा त एक दुई वाक्यमै भन्न सकिन्थ्यो नी !”

    मैले तत्कालै सहज उत्तर दिएँ, “साहित्य भनेकै सामान्य कुरालाई पनि कल्पनाशीलता र कलात्मकताका माध्यमबाट फरक ढङ्गले अभिव्यक्त गर्ने विधा हो ।” विद्यार्थीले मेरो उत्तर सुने, तर उनको जिज्ञासा त्यतिमै समाप्त भयो कि भएन, मलाई थाहा भएन तर उनको प्रश्नले भने मेरो मनमा अनेक प्रश्न जन्माइरह्यो । पाँच पृष्ठको कथा पढ्न किन कठिन लाग्न थाल्यो ? केही वाक्यमै सूचना प्राप्त गर्न सकिने अवस्थामा मानिसले लामो साहित्यिक रचना पढ्न किन समय खर्च गर्ने ? अनि पढ्नु भनेको सूचना प्राप्त गर्नु मात्र हो कि जीवन र जगत्लाई बुझ्ने प्रक्रिया पनि हो ? यी प्रश्नको उत्तर खोज्दै जाँदा मलाई अहिलेको शैक्षिक तथा सामाजिक चुनौतीतर्फ ध्यान दिनुपर्ने महसुस भयो । त्यो हो, पठन संस्कृतिमा आइरहेको ह्रास र त्यसले मानिसको कल्पनाशीलता, एकाग्रता, संवेदनशीलता तथा विश्लेषण क्षमतामा पार्नसक्ने प्रभाव ।

सूचना बढ्दैछ, गहिराइ घट्दैछ ?

    इन्टरनेटको विस्तारले ज्ञान र सूचनामा मानिसको पहुँच अभूतपूर्व रूपमा बढाएको छ । आज संसारको कुनै कुनामा भएको घटनाबारे केही सेकेन्डमै जानकारी प्राप्त गर्न सकिन्छ । पुस्तकालयमा घण्टौँ खोज्नुपर्ने सामग्री मोबाइलको एउटा स्क्रिनमा उपलब्ध हुन्छ । यसलाई मानव सभ्यताको महत्वपूर्ण उपलब्धि मान्नुपर्छ तर सूचना प्राप्त गर्न सहज हुँदै जानु र गहिरो ज्ञान हासिल गर्नु एउटै कुरा होइन ।

    आज हामी २०–३० सेकेन्डका रिल्स, छोटा भिडियो र झट्ट हेरेर सकिने सामग्रीमा अभ्यस्त हुँदै गएका छौँ । एउटा भिडियो सकिन नपाउँदै अर्को सामग्री अगाडि आइपुग्छ । एउटा विषयमा केहीबेर सोच्न खोज्दा अर्को दृश्यले ध्यान तान्छ । मनोरञ्जन र सूचनाको यो निरन्तर प्रवाहले तत्काल आनन्द त दिन्छ तर लामो समयसम्म एउटै विषयमा केन्द्रित हुने, त्यसका विभिन्न पक्ष केलाउने र निष्कर्षमा पुग्नुअघि पर्याप्त सोचविचार गर्ने अभ्यासलाई कमजोर बनाउँदै लगेको छ । प्रविधिलाई दोष दिएर मात्र समस्याको समाधान हुँदैन । इन्टरनेट आफैँमा ज्ञानको स्रोत हो । समस्या यसको प्रयोगको उद्देश्य, समय र तरिकामा छ । हामीले प्रविधिलाई ज्ञानको गहिराइमा पुग्ने माध्यम बनाइरहेका छौँ कि क्षणिक मनोरञ्जनको अन्तहीन चक्रमा आफूलाई सीमित गरिरहेका छौँ भन्ने प्रश्न महत्त्वपूर्ण छ ।

    पठनको अर्थ अक्षर चिन्नु वा सूचना सङ्कलन गर्नुमात्र होइन । पढ्नु भनेको लेखकले प्रस्तुत गरेको विचारसँग संवाद गर्नु, त्यसका पक्ष विपक्षमा सोच्नु, पात्रको मनोविज्ञान बुझ्नु, घटनाको सम्भावित परिणाम अनुमान गर्नु र आफ्नै धारणा माथि प्रश्न उठाउनु पनि हो । यस्तो अभ्यासले मानिसलाई तत्काल देखिएको यथार्थभन्दा पर पुगेर सोच्न सिकाउँछ ।

कल्पनाशीलताको विकास कसरी हुन्छ ?

    साहित्य पढ्दा पाठकले प्रत्यक्ष नदेखेका संसारको कल्पना गर्छ । उपन्यासको पात्र कस्तो होला, उसको अनुहारमा कस्तो भाव होला, ऊ किन त्यस्तो व्यवहार गर्दै होला र अब के होला भन्ने प्रश्न पाठकको मनमा उठ्छन् । लेखकले शब्दमार्फत एउटा संसार निर्माण गर्छ । त्यस संसारलाई जीवन्त बनाउने काम पाठकको कल्पनाशीलताले गर्छ । चलचित्र वा भिडियोमा पात्रको अनुहार, आवाज, परिवेश र घटनाक्रम प्रत्यक्ष देखाइन्छ । साहित्यमा भने पाठकले शब्दका आधारमा यी सबै कुरा आफ्नै मनमा निर्माण गर्नुपर्छ । यही प्रक्रियामा कल्पनाशीलता सक्रिय हुन्छ । पाठकले लेखकले दिएको सीमित सङ्केतबाट विस्तृत संसारको परिकल्पना गर्छ । एउटै कथा पढेका दुई व्यक्तिले त्यसका पात्र र घटनालाई फरक ढङ्गले अनुभूत गर्न सक्छन् । साहित्यको सौन्दर्य पनि यही स्वतन्त्रतामा नीहित छ ।

    कथा पढ्दा हामी पात्रको वर्तमान अवस्था मात्र बुझ्दैनौँ उसले विगतमा भोगेका घटना र भविष्यमा गर्नसक्ने निर्णयबारे पनि सोच्न थाल्छौँ । कुनै पात्रले गरेको गल्तीका कारण खोज्छौँ । उसको निर्णयको परिणाम अनुमान गर्छौं र अर्को परिस्थिति भएको भए के हुन्थ्यो होला भनेर कल्पना गर्छौं । यसरी पठनले सम्भावनाको संसार खोल्छ । सबै कुरा तयार दृश्यका रूपमा हेर्ने बानी बढ्दै गयो भने पाठकले आफैँ कल्पना गरेर रिक्त स्थान भर्ने अवसर पाउँदैन । यसबाट सबैको कल्पनाशीलता घट्छ भन्ने निष्कर्ष निकाल्न नसकिए पनि कल्पना, एकाग्रता र गहन चिन्तनका लागि आवश्यक अभ्यासको अवसर भने गुम्दछ नै ।

ज्ञानभन्दा पर पनि छ पठनको महत्त्व

    शिक्षण सिकाइमा सामान्यतः ज्ञान, बोध, प्रयोग, विश्लेषण, मूल्याङ्कन र सिर्जनात्मकतालाई उच्चस्तरीय सिकाइका महत्त्वपूर्ण पक्षका रूपमा लिइन्छ । कुनै विषयबारे तथ्य जान्नु ज्ञान हो । त्यसको अर्थ बुझ्नु बोध हो । सिकेको कुरा व्यवहारमा प्रयोग गर्नु प्रयोग हो । त्यसका विभिन्न पक्ष केलाउनु विश्लेषण हो । प्रमाणका आधारमा त्यसको गुणदोष छुट्याउनु मूल्याङ्कन हो । अनि उपलब्ध ज्ञानलाई नयाँ ढङ्गले संयोजन गरेर नवीन विचार वा सिर्जना प्रस्तुत गर्नु सिर्जनात्मकता हो । 

    सूचनामा मात्र सीमित हुने पठनले यी सबै पक्षलाई समान रूपमा विकसित गर्न सक्दैन । एउटा समाचार पढेर हामी कुनै घटनाबारे जानकार हुन सक्छौँ तर घटनामा संलग्न व्यक्तिको मनोविज्ञान, सामाजिक परिवेश र निर्णयका जटिल कारण बुझ्न थप अध्ययन र चिन्तन आवश्यक पर्छ । साहित्यले यस्ता पक्षमा प्रवेश गर्ने अवसर दिन्छ । यसको अर्थ समाचार, विज्ञानसम्बन्धी सामग्री वा इन्टरनेटबाट प्राप्त ज्ञान महत्त्विहीन हुन्छ भन्ने होइन । तथ्यले संसारबारे जानकारी दिन्छ भने साहित्यले त्यही संसारमा बाँचिरहेका मानिसका अनुभूति, द्वन्द्व, पीडा, आशा र आकाङ्क्षा बुझ्न सहयोग गर्छ ।

    यस सन्दर्भमा भावनात्मक बुद्धिमत्ताको चर्चा पनि सान्दर्भिक हुन्छ । आफ्ना भावना पहिचान गर्नु, तिनलाई व्यवस्थापन गर्नु, अरूको भावनाप्रति संवेदनशील हुनु र परिस्थितिअनुसार व्यवहार गर्नसक्नु जीवनका महत्त्वपूर्ण सीप हुन् । साहित्यिक कृतिमा प्रस्तुत पात्रका अनुभवसँग पाठकले आफूलाई जोड्न सक्छ । आफूभन्दा फरक सामाजिक, आर्थिक र सांस्कृतिक पृष्ठभूमिका व्यक्तिका दुःख र सङ्घर्ष बुझ्ने अवसर पाउँछ । यसले सहानुभूति र समानुभूतिको अभ्यासलाई प्रोत्साहित गर्छ ।

    कथाको कुनै पात्रसँग असहमत हुँदाहुँदै पनि पाठकले उसले त्यस्तो निर्णय किन ग¥यो भन्ने बुझ्ने प्रयास गर्छ । वास्तविक जीवनमा पनि अरूको व्यवहारलाई तत्काल गलत ठहर गर्नुभन्दा त्यसका कारण खोज्ने बानी उपयोगी हुन्छ । यस अर्थमा साहित्य जीवनको प्रयोगशाला हो, जहाँ हामी अरूका अनुभवबाट सिक्न सक्छौँ र आफ्नै धारणाको समीक्षा गर्न सक्छौँ ।
पुराना पुस्तक किन पढ्ने ?

    आज नयाँ पुस्ताका विद्यार्थीले पुराना कथा, उपन्यास र कविताको उपयोगितामाथि प्रश्न उठाउनु अस्वाभाविक होइन । उनीहरूलाई आवश्यक जानकारी इन्टरनेटमा उपलब्ध छ । छोटो भिडियोले इतिहास, विज्ञान वा सामाजिक घटनाको सार बताइदिन सक्छ । त्यसैले लामो पुस्तक पढ्नुपर्ने कारण के हो भन्ने प्रश्न उनीहरूमा उठ्नु स्वाभाविक छ । पुरानो पुस्तक पढ्नुको उद्देश्य विगतका सबै विचारलाई जस्ताकोतस्तै स्वीकार गर्नु होइन । कुनै समयको समाज, मान्यता, सङ्घर्ष र मानवीय सम्बन्धलाई बुझ्नु हो । समय, प्रविधि र सामाजिक संरचना परिवर्तन भए पनि प्रेम, इष्र्या, लोभ, करुणा, अन्याय, आकाङ्क्षा र आत्मसम्मानजस्ता मानवीय अनुभूति विभिन्न रूपमा दोहोरिइरहन्छन् ।

    पुरानो साहित्य पढ्दा हामी विगतलाई मात्र बुझ्दैनौँ, वर्तमानलाई हेर्ने नयाँ दृष्टि पनि प्राप्त गर्छौं । कुनै समय सामान्य मानिएको व्यवहार आज अन्यायपूर्ण लाग्न सक्छ । कुनै पात्रको निर्णयले हामीलाई तत्कालीन सामाजिक संरचनाको सीमितता बुझाउन सक्छ । यसरी साहित्यले इतिहास, समाज र मानवीय चेतनाबीच सम्बन्ध स्थापित गर्छ । पुस्तक पढ्नु भनेको सबै निष्कर्ष लेखकबाटै प्राप्त गर्नु पनि होइन । असल पाठक लेखकसँग असहमत हुन सक्छ, उसका तर्कमाथि प्रश्न उठाउन सक्छ र फरक निष्कर्ष निकाल्न सक्छ । यही स्वतन्त्र चिन्तनको अभ्यासले व्यक्तिलाई सूचनाको उपभोक्ता मात्र नभई विवेकशील पाठक बनाउँछ ।

पठन संस्कृति फर्काउने जिम्मेवारी

    पठन संस्कृतिको विकासका लागि विद्यालय, विश्वविद्यालय, परिवार र समाज सबैको भूमिका हुन्छ । पाठ्यपुस्तकको परीक्षा उत्तीर्ण गर्न आवश्यक सामग्री मात्र पढेर विद्यार्थीको बौद्धिक तथा भावनात्मक विकासका सबैपक्ष समेटिदैनन् । उनीहरूलाई पाठ्यक्रम बाहिरका कथा, उपन्यास, जीवनी, नाटक, कविता र विचारप्रधान पुस्तकसँग पनि परिचित गराउनुपर्छ ।

    विद्यालयमा पुस्तक पढेर त्यसको सार लेख्न लगाउने, विद्यार्थीलाई पात्रको निर्णयबारे छलफल गर्न, कथाको वैकल्पिक अन्त्य कल्पना गर्न, लेखकसँग असहमत हुने आधार प्रस्तुत गर्न र पुस्तकले उठाएका प्रश्नलाई वर्तमान जीवनसँग जोड्न प्रेरित गर्नुपर्छ । पुस्तक पढेपछि त्यसबारे स्वतन्त्र बहस गर्ने वातावरणले पठनलाई बोझ होइन, बौद्धिक आनन्दको स्रोत बनाउन सक्छ ।

    लामो बिदा पनि यसका लागि उपयुक्त अवसर हुन सक्छ । दसैँ, तिहारजस्ता पर्वका बिदामा बालबालिकालाई उनीहरूको रुचि र उमेरअनुसारका पुस्तक उपलब्ध गराउन सकिन्छ । पुस्तक पढेपछि त्यसबारे परिवारमा छलफल गर्ने, मन परेको अंश सुनाउने वा आफ्नै शब्दमा प्रतिक्रिया लेख्ने अभ्यास गर्न सकिन्छ । पुस्तक पढ्ने विद्यार्थीलाई सानो उपहार दिने, पुस्तकालय भ्रमण गराउने र साथीहरूसँग पुस्तक साटासाट गर्ने कार्यक्रमले पनि उनीहरूको रुचि बढाउन सक्छ । तर बालबालिकालाई ‘मोबाइल नहेर, किताब पढ’ भनेर निर्देशन दिँदै अभिभावक आफैँ निरन्तर मोबाइलमा व्यस्त रहनु प्रभावकारी हुँदैन । बालबालिकाले हामीले भनेका कुरा मात्र होइन, गरेका काम पनि नियालिरहेका हुन्छन् । त्यसैले उनीहरूका अगाडि अभिभावकले पुस्तक पढ्ने, लेख्ने र विचारमाथि छलफल गर्ने बानी बसाल्नुपर्छ । शिक्षकले पनि पाठ्यपुस्तक पढाउने व्यक्तिको भूमिकामा मात्र सीमित नभई आफू स्वयं पाठक भएको उदाहरण प्रस्तुत गर्नुपर्छ ।

    पठन संस्कृतिको पुनर्जागरणका लागि ग्याजेटको प्रयोगलाई पूर्णतःनिषेध गर्न आवश्यक छैन । बरु निश्चित समय डिजिटल उपकरणबाट टाढा रहने, सुत्नुअघि पुस्तक पढ्ने, घरमा सानो पुस्तकालय बनाउने र परिवारका सदस्यले सँगै पढ्ने अभ्यास गर्न सकिन्छ । डिजिटल माध्यमबाटै पनि पूर्ण पुस्तक, साहित्यिक रचना र श्रव्यपुस्तकको उपयोग गर्न सकिन्छ । मुख्य कुरा माध्यमभन्दा पनि पठनको गुणस्तर, निरन्तरता र उद्देश्य हो ।

    पठन संस्कृति भनेको किताबको सङ्ख्या बढाउनु मात्र होइन; पढेको कुरामाथि सोच्नु, त्यसलाई जीवनसँग जोड्नु र आवश्यकपर्दा आफ्ना धारणासमेत परिवर्तन गर्न तयार हुनु हो । पुस्तकले हाम्रो जीवनलाई सहज बनाउने स्नेह, संवेदना र विवेकको अभ्यास गराउँछ । जसरी इन्जिनलाई सहज रूपमा सञ्चालन गर्न इन्धन आवश्यक पर्छ, त्यसरी नै मानवीय सम्बन्ध र व्यक्तित्वलाई सहज, सन्तुलित तथा संवेदनशील बनाउन पठन संस्कृतिले महत्त्वपूर्ण भूमिका खेल्छ ।

    आजका बालबालिका समाजका सक्रिय सदस्य पनि हुन् । उनीहरूलाई सूचना प्राप्त गर्नसक्ने बनाउनु आवश्यक छ तर त्यतिले मात्र पुग्दैन । उनीहरूलाई प्रश्न गर्न, कल्पना गर्न, अरूको पीडा बुझ्न, प्रमाणका आधारमा तर्क गर्न र नयाँ सम्भावनाको खोजी गर्नसक्ने बनाउनु पनि उत्तिकै आवश्यक छ । यसका लागि दसैँ, तिहारका बिदालाई केबल घुमफिर र मनोरञ्जनमा सीमित नराखौँ । बालबालिकालाई पुस्तक उपहार दिऔँ, उनीहरूसँगै पढौँ र पढेका कुरा माथि संवाद गरौँ । उनीहरूलाई पढ्न आदेश दिनुभन्दा पढ्ने वातावरण सिर्जना गरौँ किनभने पढ्ने बानी निर्देशनबाट होइन, रुचि, अवसर र उदाहरणबाट विकसित हुन्छ ।

    आजको आवश्यकता प्रविधिबाट भाग्नु होइन, प्रविधिको उपयोग गर्दै गहिरो पठन र चिन्तनका लागि समय छुट्याउनु हो । हामीले आफ्ना बालबालिकालाई किताबसँग मित्रता गर्न सिकाउन सकेनौँ भने उनीहरू सूचनाले भरिपूर्ण तर अनुभूतिले रिक्त बन्ने जोखिम रहन्छ । उनीहरूलाई पढ्न सिकाउनु भनेको केवल अक्षर बुझ्न सिकाउनु होइन; जीवन बुझ्न, मानिस चिन्न र आफूलाई निरन्तर परिष्कृत गर्न सिकाउनु हो । यस दसैँ–तिहारमा सानो प्रयासबाट पठन संस्कृतिको पुनर्जागरण सुरु हुन सक्छ ।