असोज २९, २०८३ बिहिबार

उदयुर, २९ असोजः जिल्लाबाट वार्षिक तीन हजार मेट्रिकटन मासु जिल्ला बाहिर निर्यात हुने गरेको छ । वार्षिक आठ हजार मेट्रिकटन मासु उत्पादन हुनेमा तीन हजार १२० मेट्रिकटन मासु जिल्ला बाहिर निर्यात हुने गरेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र उदयुपरले जनाएको छ । 

    जिल्लामा उत्पादन हुने मासुको ६१ प्रतिशत स्थानीय बजारमै खपत हुने गरेको छ भने बाँकी ३९ प्रतिशत अन्य जिल्लामा बिक्री तथा ढुवानी हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख शुक्रराज लिम्बूले बताउनुभयो ।  

    उहाँका अनुसार गत आव जिल्लामा सबैभन्दा धेरै सुँगुर–बङ्गुरको मासु उत्पादन भएको छ  । उक्त अवधिमा दुई हजार १३९ मेट्रिकटन सुँगुर–बङ्गुरको मासु उत्पादन भएको थियो  । 

    त्यसैगरी, खसीबोकाको एक हजार ९४४, कुखुराको एक हजार ८३५ र राँगाको एक हजार ७५८ मेट्रिकटन मासु उत्पादन भएको थियो । भेडाको एक दशमलव पाँच र हाँसको १० मेट्रिकटन मासु उत्पादन भएको केन्द्रले जनाएको छ । 

    गत आव २०८२÷८३ मा उदयपुरमा सात हजार ७९१ मेट्रिकटन मासु उत्पादन भएको छ । यो अघिल्लो आवको तुलनामा २२१ मेट्रिकटन बढी हो ।

    भेटेनरी अस्पतालका प्रमुख लिम्बूका अनुसार उदयपुरमा अघिल्लो आवमा वार्षिक तीन प्रतिशतको दरले मासु उत्पादन दर बढेको छ । आव २०८१÷८२ मा जिल्लामा सात हजार ५७० मेट्रिकटन मासु उत्पादन भएको थियो । त्यसअघि आर्थिक वर्ष २०८०÷८१ मा सात हजार ६०७ मेट्रिकटन उत्पादन भएको थियो । 

    तथ्याङ्कअनुसार आव २०८०÷८१ को तुलनामा २०८१÷८२ मा मासु उत्पादन ३६ मेट्रिकटन घटेको थियो । तर, त्यसपछिको आवमा उत्पादन उल्लेख्य बढेको छ । पछिल्लो एक वर्षमा मासु उत्पादन करिब २.९२ प्रतिशतले वृद्धि भएको हो । 

    केन्द्रका प्रमुख लिम्बूले जिल्लामा आवश्यकताभन्दा बढी मासु उत्पादन हुने गरेको बताउनुभयो । “हाम्रो तथ्याङ्कअनुसार जिल्लामा कुल उत्पादनको ६१ प्रतिशत खपत हुन्छ  । बाँकी मासु जिल्ला बाहिर जाने गरेको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार उदयपुरमा आवश्यकपर्ने मासुमध्ये कहिलेकाहीँ मात्रै बाहिरी जिल्लाबाट बोइलर कुखुरा ल्याउनुपर्ने हुन्छ । सुनसरीको बराह क्षेत्र आसपास र सप्तरीको सिसबारी क्षेत्रबाट कुखुरा आउने गरेको उहाँले बताउनुभयो ।

    दसैँको समयमा उदयपुरका आठवटै स्थानीय तहबाट खसीबोका, राँगा र सुँगुर–बङ्गुर जिल्ला बाहिर बढी बिक्री हुने गरेको छ । चाडपर्वबाहेकका समयमा पनि पशुपन्छी तथा मासुजन्य उत्पादन बाहिरी जिल्लामा निर्यात हुने गरेको उहाँको भनाइ छ ।