असोज २८, २०८३ बुधबार

टोकियो, २८ असोज : जासुसीको आरोपमा रुसले पक्राउ गरेका जापानी पत्रकार युकी इमाईलाई निष्पक्ष व्यवहार गर्न जापानले मस्कोसँग आग्रह गरेको छ । जापानी विदेशमन्त्री तोसिमित्सु मोतेगीले बुधबार रुसी अधिकारीहरूसँग पत्रकारबारे शीघ्र जानकारी उपलब्ध गराउन र उहाँको सुरक्षा सुनिश्चित गर्न अनुरोध गरिएको बताउनुभयो ।

    रुसको विदेश मन्त्रालयले इमाई होक्काइडो सिम्बुन अखबारका पत्रकार भएको जनाएको छ । रुसी सङ्घीय सुरक्षा सेवा (एफएसबी) ले उहाँलाई सखालिन टापुमा पक्राउ गरी जापानी गुप्तचर निकायका लागि रुसी रक्षा क्षेत्रसम्बन्धी सूचना सङ्कलन गरेको आरोप लगाएको छ । उहाँविरुद्ध आपराधिक मुद्दा दर्ता गरिएको र डिसेम्बर १२ सम्म हिरासतमा राखिने रुसी सञ्चारमाध्यमले जनाएका छन् । अभियोग प्रमाणित भए उहाँलाई २० वर्षसम्म जेल सजाय हुन सक्छ ।

    होक्काइडो सिम्बुनले घटनाको विवरण पुष्टि गरिरहेको जनाउँदै पत्रकारको सुरक्षा आफ्नो सर्वोच्च प्राथमिकता भएको बताएको छ । रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले जापानले रुसको राष्ट्रिय सुरक्षालाई कमजोर पार्ने उद्देश्यले सूचना सङ्कलन गर्न खोजेको आरोप लगाउँदै यो एक्लो घटना नभएको दाबी गर्नुभएको छ ।

    एफएसबीले पक्राउका क्रममा एक व्यक्तिलाई होटलको कोठामा भुइँमा लडाएर हतकडी लगाइएको भिडियो सार्वजनिक गरेको थियो । पत्रकारलाई मस्को लगिएको र अदालतले सुनुवाइअघि हिरासतमा राख्न आदेश दिएको रुसी सञ्चारमाध्यमले जनाएका छन् ।

    रुसले पछिल्ला वर्षमा पश्चिमी गुप्तचर निकायका लागि काम गरेको आरोपमा विदेशी नागरिकलाई पक्राउ गर्दै आएको छ । सन् २०२३ मा अमेरिकी पत्रकार इभान गेर्शकोभिच पनि जासुसीको आरोपमा पक्राउ पर्नुभएको थियो । उहाँलाई १६ वर्षको जेल सजाय सुनाइए पनि सन् २०२४ मा कैदी आदानप्रदानका क्रममा रिहा गरिएको थियो ।

    जापान र रुसबीच कुरिल टापुहरूको स्वामित्वलाई लिएर दशकौँदेखि विवाद छ । दोस्रो विश्वयुद्धको अन्त्यतिर सोभियत सङ्घले कब्जा गरेका ती टापु अहिले रुसको नियन्त्रणमा छन् । जापानले तिनलाई ‘उत्तरी क्षेत्र’ भन्ने गरेको छ ।