काठमाडौँ, २७ असोजः आइसिसी विश्वकप क्रिकेट लिग–२ को एकदिवसीय शृङ्खलाअन्तर्गत आज ओमानविरुद्धको खेलमा नेपालले टस जितेर पहिलो ब्याटिङ राजेको छ ।
ओमानको अल अमेरत ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा एक भर्खरै भएको टसमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको हो । यससँगै ओमानले भने पहिला फिल्डिङ गर्नेछ ।
जारी शृङ्खलामा नेपाल र ओमान दोस्रो जितको खोजीमा रहेका छन् । यही असोज २६ गते भएको पहिलो खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गर्दै जित हासिल गरेको थियो ।
त्यसअघि शुक्रबार भएको खेलमा ओमानले पनि क्यानडालाई ४१ रनले पराजित गरेको थियो । ओमानको जितपछि नेपालको शीर्ष ४ मा पर्ने सम्भावना सकिएको छ भने नेपालको ध्यान अब एकदिवसीय मान्यतालाई जोगाउनेतर्फ रहेको छ ।
आइसिसी विश्व लिग २ मा ३३ खेल खेलेको नेपाल २६ अङ्कसहित अङ्क तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । यता क्यानडा ३४ खेलबाट २५ अङ्कसहित अङ्क तालिकाको सातौँमा झरेको छ । २९ खेल खेलेको ओमानले ३३ अङ्क जोड्दै अङ्क तालिकाको चौथो स्थानमा छ ।