कर्णाली, २४ असोजः अपाङ्गता भएका व्यक्तिको समावेशी विकासका सम्बन्धमा वीरेन्द्रनगरका वडा सचिवहरूसँग छलफल गरिएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल कर्णाली प्रदेश सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयाजित ‘अपाङ्गता समावेशी विकास’ सम्बन्धमा वीरेन्द्रनगर नगरपालिकाका १६ वडाका सचिवहरूसँग छलफल गरिएको हो ।
स्थानीय तहमा समावेशी विकास कार्यान्वयनको अवस्था, प्रशासनिक चुनौती, योजना, बजेट, सेवा, अपाङ्गता समावेशीकरणका लागि आवश्यक र व्यावहारिक उपाय एवं प्रतिबद्धताका बारेमा सचिवसँग छलफल तथा अन्तरक्रिया भएको महासङ्घका प्रदेश व्यवस्थापक आनन्द विष्टले जानकारी दिनुभयो ।
व्यवस्थापक विष्टका अनुसार १६ वटै वडामा अपाङ्गता लक्षित कार्यक्रमका लागि छुट्याइएको बजेट तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी र परिणाममुखी बनाउन सचिवको भूमिका तथा त्यसमा सरोकारवालाको आवश्यक सहयोग एवं अपाङ्गता भएका व्यक्तिले पाउने सेवामा सहजता कसरी ल्याउने भन्ने विषयमा छलफल गरिएको थियो ।
उक्त छलफलमा वीरेन्द्रनगर नगरपालिका प्रशासन शाखाका प्रमुख टङ्कप्रसाद लामिछानेले सबै अपाङ्गता भएका व्यक्तिलाई एकै डालोमा हालेर दिइने सेवाले अन्याय हुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अपाङ्गता भएका व्यक्तिहरू प्रत्येकका आआफ्नै समस्या छन् । तिनलाई विशिष्टीकृत गरेर नीति, कार्यक्रम बजेट तथा योजनातर्जुमा गरिनुपर्दछ अनिमात्र उनीहरूका समस्या एवं आवश्यकता सम्बोधन हुन्छन् ।”
छलफलमा अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा दीगो प्रभाव पार्ने खालका कार्यक्रम निर्माण हुनुपर्ने, उनीहरूको आत्मनिर्भरताका लागि आयआर्जन, रोजगारी, सीप र क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने, वडा तहबाट अपाङ्गता भएका व्यक्तिका लागि आवश्यक सामग्रीको व्यवस्था गर्नुपर्नेलगायत विषयलाई आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गरेर कार्यान्वयन तहमा लैजानुपर्नेमा सुझाव दिइएको थियो । रासस