जनक श्रेष्ठ/रासस
लमजुङ, २३ असोज : माथि अग्ला पहाडका भीर, साँघुरा घुम्ती र तल वेगले बग्ने मस्र्याङ्दी नदी । बीचबाट अघि बढेको छ–बेँसीसहर–चामे सडक । हिमालपारिको जिल्ला मनाङलाई सडक सञ्जालसँग जोड्ने यही एक मात्र मुख्य सडक मनाङको जीवनरेखा हो ।
यही सडकबाट खाद्यान्न, औषधि, इन्धन, निर्माण सामग्री र दैनिक उपभोग्य वस्तु मनाङ पुग्छन् । बिरामी उपचारका लागि बाहिरिन्छन्, विद्यार्थी तथा स्थानीयको आवतजावत हुन्छ, व्यापारीले सामान ओसारपसार गर्छन् भने स्वदेशी तथा विदेशी पर्यटक यही मार्ग हुँदै अन्नपूर्ण क्षेत्रतर्फ पुग्छन् ।
पछिल्ला वर्षमा मस्र्याङ्दी करिडोर क्षेत्रमा निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाका उपकरण, निर्माण सामग्री र कर्मचारी बोकेका सवारीसाधनसमेत यही सडकमा निर्भर छन् तर वर्षायाम सुरु भएसँगै यही जीवनरेखा जोखिमको बाटो बन्ने गरेको छ । यस वर्ष असोज ८ देखि ११ गतेसम्म लगातार परेको वर्षापछि आएको बाढी पहिरोले बेँसीसहर–चामे सडकका विभिन्न स्थानमा ठूलो क्षति पु¥यायो ।
बाढी पहिरोका कारण करिब ३५ स्थानमा सडक प्रभावित भएपछि पाँच–छ दिनसम्म सडक अवरुद्ध भयो । कतिपय स्थानमा पहिरो पन्छाउनुप¥यो भने कतिपय ठाउँमा सडक नै बगाएपछि नयाँ ट्र्याक खोल्नुपरेको थियो । डुम्रे–बेँसीसहर–चामे सडक आयोजना कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार बाढी पहिरोबाट क्षति भएका ३५ स्थानमध्ये २९ स्थानमा पहिरो हटाइएको छ भने सडकको ट्र्याक नै बगाएका छ स्थानमा नयाँ ट्र्याक खोलेर यातायात सञ्चालनमा ल्याइएको छ । “अहिले सडक सञ्चालनमा ल्याएका छौँ तर केही ठाउँमा नयाँ ट्र्याकबाट सवारी सञ्चालन भइरहेको छ । ती ट्र्याक कच्ची छन्, त्यसैले जोखिम अझै उच्च छ,” उहाँले भन्नुभयो ।
कतिपय स्थानमा काठे पुलसमेत बाढीले बगाएको छ । दुईवटा काठे पुल बगेपछि केही ठाउँमा खोला तरेरै सवारी सञ्चालन गर्नुपर्ने अवस्था आएको छ । सडक खुले पनि पुरानै अवस्थामा यातायात सञ्चालन हुन नसकेका कारण अहिलेको यात्रा जोखिममुक्त भने छैन । वर्षा दोहोरिएमा नयाँ खोलिएका कच्ची ट्र्याक पुनः क्षतिग्रस्त हुनसक्ने र सडक फेरि अवरुद्ध हुनसक्ने जोखिम रहेको आयोजनाले जनाएको छ । करिब ६५ किलोमिटर लामो बेँसीसहर–चामे सडकमा बेँसीसहरदेखि खुदीसम्मको खण्ड कालोपत्र भएको छ ।
अधिकांश सडक अझै साँघुरो र कच्ची अवस्थामा छ । कतिपय जोखिमयुक्त स्थानमा ढलान तथा संरक्षणका काम गरिए पनि धेरै ठाउँमा सडक साँघुरो, चिप्लो र पहिरोको जोखिमयुक्त छ । सडकका केही स्थानमा अझै काठे पुल सञ्चालनमा छन् । वर्षायाममा सडकको जोखिम असारदेखि असोजको पहिलो सातासम्म बढी हुने गरे पनि यस वर्ष असोजको दोस्रो सातासम्म परेको निरन्तर वर्षाले जोखिमलाई थप बढाइदियो । माथिबाट पहिरो र ठूला ढुङ्गा खस्ने तथा तल मस्र्याङ्दी नदी र खोलाले सडक कटान गर्ने दोहोरो जोखिमका कारण सडक जुनसुकै बेला अवरुद्ध हुने अवस्था छ ।
लमजुङतर्फ मस्र्याङ्दी गाउँपालिका–४ रामबजार क्षेत्र पनि बाढीपहिरोबाट प्रभावित भयो । पहिरोले सडक लामो समय अवरुद्ध भएपछि सडक आयोजना कार्यालयले मेसिन परिचालन गरी पहिरो हटाएर यातायात सञ्चालनमा ल्याएको थियो । बाढी र पहिरोको जोखिम कायमै रहेकाले उक्त क्षेत्रलाई पनि संवेदनशील खण्डका रूपमा हेरिएको छ ।
बेँसीसहर नगरपालिका–६ स्थित खरखरे भिर भने वर्षौँदेखि नै जोखिमयुक्त क्षेत्रका रूपमा चिनिँदै आएको छ । यहाँ माथिबाट पहिरो र ठूला ढुङ्गा खस्ने तथा तल मस्र्याङ्दी नदीले सडक कटान गर्ने दोहोरो जोखिम छ । सामान्य वर्षा हुँदा पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने गरेको छ । खरखरे क्षेत्रको करिब ८० मिटर सडक अत्यन्त संवेदनशील रहेको सडक आयोजना कार्यालयले जनाएको छ ।
पहिरो नियन्त्रण तथा सडक संरक्षणका लागि करिब २० करोड रुपैयाँ लागत अनुमान गरिएको योजनाको ठेक्का १६ करोड ४८ लाख रुपैयाँमा खरीढुङ्गा–गोलसेस्वरा जेभीले पाएको थियो । सम्झौताअनुसार २०८० मङ्सिरभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्माण कार्यले अपेक्षित गति लिन नसकेपछि म्याद थप गरी २०८२ मङ्सिरसम्म पु¥याइएको थियो । त्यस अवधिमा पनि काम सम्पन्न हुन नसकेपछि पुनः निर्माणलाई तीव्रता दिँदै गत भदौभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो तर वर्षायाम सुरु भएपछि निर्माण कार्य प्रभावित भएको छ ।
सूचना अधिकारी विष्टका अनुसार खरखरेमा हालसम्म करिब ६० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । संरक्षणको काम समयमै सम्पन्न हुन नसक्दा यस वर्षको वर्षायाममा पनि उक्त क्षेत्र उच्च जोखिममा रहेको उहाँले बताउनुभयो । “यो क्षेत्रमा माथिबाट पहिरो र ठूला ढुङ्गा झर्ने तथा तल मस्र्याङ्दी नदीले कटान गर्ने दोहोरो जोखिम छ,” उहाँले भन्नुभयो, “संरक्षणको काम समयमै सम्पन्न भएको भए जोखिम धेरै हदसम्म कम हुने थियो । अहिले पनि यो क्षेत्रलाई विशेष निगरानीमा राखेका छौँ ।”
बेँसीसहर नगरपालिका–६ का वडाध्यक्ष प्रकाश थापाका अनुसार खरखरे क्षेत्रमा सामान्य वर्षा हुँदा पनि पहिरो खस्ने जोखिम उच्च छ । निर्माण कार्य ढिलो हुँदा स्थानीय बासिन्दा र सडक प्रयोगकर्ता दुवै जोखिममा परेको उहाँले बताउनुभयो । “पहिरो नियन्त्रणको काम समयमै सम्पन्न भएको भए अहिलेको जस्तो त्रास हुँदैनथ्यो,” उहाँले भन्नुभयो, “पहिरो विस्तार हुँदै माथिल्लो भागतर्फ बढिरहेको छ । फाँटगाउँका करिब २०–२५ घरधुरी जोखिममा पर्दै आएका छन् । पहिरो बस्ती नजिक पुग्न अब करिब पाँचदेखि सात सय मिटर दूरी मात्रै बाँकी छ ।”
लामो समयदेखि बेँसीसहर–चामे सडकमा सवारी चलाउँदै आउनुभएका चालक राजु मगरातीका लागि भने सडकको यो जोखिम दैनिक भोगाइ बनेको छ । उहाँका अनुसार माथि भीर र तल मस्र्याङ्दी नदीका कारण कतिपय स्थानमा निकै डर मानेर सवारी चलाउनुपर्ने अवस्था छ । वर्षायाममा निरन्तर वर्षा भएपछि सडक झनै जोखिमपूर्ण बन्ने गरेको उहाँले बताउनुभयो । “यहाँ सवारी चलाउँदा मनमा डर त हुन्छ नै । माथिबाट बेला–बेला ढुङ्गा खस्ने, पहिरो जाने र तल मस्र्याङ्दी नदी बगिरहेको हुन्छ । कतिपय ठाउँमा सडक पनि साँघुरो छ,” उहाँले भन्नुभयो, “आफूलाई डर लागे पनि यात्रुलाई झन् डर नलागोस् भनेर सान्त्वना दिँदै सवारी चलाउँदै आएका छौँ ।”
उहाँका अनुसार कहिलेकाहीँ सवारी गुडिरहेका बेला आँखैअगाडि ढुङ्गा खस्ने र पहिरो जाने अवस्था पनि आउने गरेको छ । कतिपय ठाउँमा पहिरो पार गरिसकेपछि समेत माथिबाट ढुङ्गा खस्ने गरेको उहाँको अनुभव छ । “यस्ता धेरै घटना भोगेर र जोखिम पार गरेर सवारी चलाउँदै आएका छौँ,” उहाँले भन्नुभयो, “यो हाम्रो व्यवसाय र रोजगारी पनि हो । परिवारको गुजारा चलाउनुपर्ने भएकाले जोखिम हुँदाहुँदै पनि सवारी चलाउन बाध्य छौँ ।”
स्थानीयका अनुसार ठूलो वर्षा हुँदा खरखरेमा सडक अवरुद्ध हुने मात्र होइन, पहिरो थप फैलिने चिन्तासमेत बढ्ने गरेको छ । सडक संरक्षणको काम ढिलो हुँदा यात्रुको सुरक्षासँगै स्थानीय बस्तीको भविष्यसमेत जोखिममा परेको उनीहरूको भनाइ छ । बेँसीसहर–चामे सडक अवरुद्ध हुँदा यसको प्रत्यक्ष असर हिमालपारिको जिल्ला मनाङको जनजीवनमा पर्छ । सडक बन्द भएपछि खाद्यान्न, इन्धन, औषधि र अन्य अत्यावश्यक सामग्रीको ढुवानी प्रभावित हुन्छ । बिरामीलाई उपचारका लागि बाहिर लैजान, विद्यार्थीको आवतजावत गर्न तथा व्यापारिक गतिविधि सञ्चालन गर्न कठिन हुन्छ ।
दसैँ नजिकिँदै गर्दा यो सडकको महत्व झनै बढेको छ । दसैँमा घर फर्किने तथा आफन्तकहाँ जाने यात्रुको चाप बढ्नुका साथै खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्रीको ढुवानी पनि बढ्ने गर्छ । मनाङका स्थानीय मात्र होइन, पर्यटक तथा अन्य यात्रुको आवतजावतसमेत बढ्ने भएकाले सडकमा सवारीसाधनको चाप बढ्छ । यस्तो समयमा सडक अवरुद्ध हुने वा जोखिमपूर्ण अवस्थामा सवारी सञ्चालन गर्नुपर्दा यात्रु तथा स्थानीयले थप कठिनाइ बेहोर्नुपर्ने अवस्था आउँछ ।
मनाङवासीले यस्तो अवस्था यसअघि पनि भोगिसकेका छन् । २०७८ सालको वर्षायाममा विभिन्न स्थानमा पहिरो गएपछि बेँसीसहर–चामे सडक करिब साढे तीन महिनापछि मात्र सञ्चालनमा आएको थियो । सडक सम्पर्क टुटेपछि खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको अभाव हुन थालेको थियो । आवतजावतका लागि कतिपय स्थानीय हेलिकोप्टर प्रयोग गर्न बाध्य भएका थिए । मनाङबाट बेँसीसहर आउन हेलिकोप्टर प्रयोग गर्दा एक यात्रुले करिब २० हजार रुपैयाँसम्म तिर्नुपरेको स्थानीयको अनुभव छ ।
अहिले सडक सञ्चालनमा आए पनि मनाङवासी ढुक्क हुन सकेका छैनन् । बाढीपहिरोले क्षति पु¥याएका स्थानमा अस्थायी रूपमा नयाँ ट्र्याक खोलेर यातायात जोडिएको छ । कतिपय ठाउँमा खोला तरेर सवारी सञ्चालन गर्नुपरेको छ । वर्षा पुनः बढेमा सडकको अवस्था फेरि बिग्रन सक्ने जोखिम छ ।
बेँसीसहर–चामे सडक अन्नपूर्ण पदमार्गको प्रमुख प्रवेशद्वारसमेत हो । यही सडक हुँदै स्वदेशी तथा विदेशी पर्यटक मनाङ पुग्ने गर्छन् । सडकको अवस्था कमजोर हुँदा पर्यटकको आवागमनमा असर पर्नुका साथै होटल, होमस्टे, यातायात, पसल तथा अन्य पर्यटन व्यवसायसमेत प्रभावित हुन्छन् । सडकमा दैनिक दर्जनौँ जिप तथा अन्य सवारीसाधन सञ्चालन हुन्छन् ।
मनाङका बासिन्दाको दैनिक आवतजावतदेखि खाद्यान्न, इन्धन, औषधि र निर्माण सामग्रीको ढुवानी यही सडकबाट हुन्छ । मस्र्याङ्दी करिडोर क्षेत्रमा निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाका उपकरण र निर्माण सामग्री ढुवानीमा समेत सडकको महत्वपूर्ण भूमिका छ । त्यसैले यो सडक केवल आवतजावतको माध्यम नभई मनाङको पर्यटन, व्यापार, विकास निर्माण र समग्र आर्थिक गतिविधिको आधार बनेको छ । सूचना अधिकारी विष्टका अनुसार बेँसीसहरदेखि खुदीसम्म दुई लेनमा कालोपत्र भएको छ ।
बेँसीसहरदेखि चामेसम्मको सम्पूर्ण सडक कालोपत्र गर्ने योजना रहे पनि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) अध्ययन समयमै सम्पन्न हुन नसक्दा आवश्यक बजेट विनियोजन हुन नसकेको उहाँले बताउनुभयो । “बेँसीसहर–खुदी खण्डमा जस्तै बाँकी सडकका लागि पनि चरणबद्ध रूपमा बजेट विनियोजन गरेर कालोपत्र गर्न आवश्यक छ,” उहाँले भन्नुभयो, “सडक स्तरोन्नति भएपछि यात्रुको जोखिम कम हुनुका साथै मनाङको पर्यटन, व्यापार र स्थानीय जनजीवनमा सकारात्मक प्रभाव पर्नेछ ।”
भौगोलिक रूपमा अत्यन्त जटिल क्षेत्रमा निर्माण गरिएको बेँसीसहर–चामे सडकमा हरेक वर्ष वर्षायामसँगै जोखिम दोहोरिन्छ । माथिबाट पहिरो र ढुङ्गा खस्छ, तल मस्र्याङ्दीको बहाव बढ्छ । कतै सडक भासिन्छ, कतै नदीले सडकको भाग कटान गर्छ । कतिपय स्थानमा काठे पुल बगाउँछ र कतै नयाँ ट्र्याक खोलेर मात्र आवागमन जोड्नुपर्ने अवस्था आउँछ । यस वर्षको असोजको बाढी पहिरोले यही जोखिमलाई फेरि उजागर गरेको छ । ३५ स्थानमा क्षति पुगेपछि पाँच–छ दिन अवरुद्ध भएको सडक तत्कालका लागि सञ्चालनमा आए पनि जोखिम अझै उच्च छ ।
सडक सञ्चालनमा आउनु राहत हो, तर दीर्घकालीन समाधान होइन । मनाङका नागरिकका लागि बेँसीसहर–चामे सडक केवल यातायातको माध्यम होइन, जीवन धान्ने आधार हो । यही सडकले हिमालपारिको जिल्लालाई देशको मूल सडक सञ्जालसँग जोडेको छ, पर्यटनलाई चलायमान बनाएको छ, व्यापार र विकास निर्माणलाई अघि बढाएको छ । तर प्रत्येक वर्ष पहिरो, नदी कटान, कमजोर संरचना र निर्माणमा भएको ढिलाइका कारण यही जीवनरेखा जोखिममा पर्दै आएको छ ।
जोखिमयुक्त स्थानमा स्थायी पहिरो नियन्त्रण, नदी कटान रोक्ने संरचना, सुरक्षित पुल निर्माण, सडक स्तरोन्नति र निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्नु अब विकासको मात्र विषय रहेन । यो मनाङको सुरक्षित आवतजावत, पर्यटन, व्यापार र हजारौँ नागरिकको दैनिक जीवनसँग जोडिएको आवश्यकता बनेको छ । माथि पहिरोको डर र तल मस्र्याङ्दीको त्रासबीच चलिरहेको बेँसीसहर–चामे सडकले मनाङको जीवन धानिरहेको छ । सडक खुलेपछि तत्कालको सङ्कट टरे पनि जोखिमको मूल कारण अझै उस्तै छ । हरेक वर्ष सडक खुलाउने र फेरि बन्द हुने चक्र अन्त्य गर्न अब अस्थायी मर्मतभन्दा स्थायी समाधानतर्फ ध्यान दिनुपर्ने देखिन्छ ।