विराटनगर, २३ असोजः कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश लोकसेवा आयोगको आर्थिक वर्ष २०८२/८३ को सातौँ वार्षिक प्रवितवेदन’ पेस भएको छ । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले सो प्रतिवेदन सभामा पेस गर्नुभएपछि सभामुख अम्बरबहादुर विष्टले उक्त प्रतिवेदन सुशासन तथा योजना समितिमा पठाउने जानकारी दिनुभयो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री शेर्पाले सवारी अनुमतिपत्रका लागि चिकित्सा मापदण्डअनुसार काम भइरहेको बताउनुभयो । उहाँले सभाको शून्य समय तथा विशेष समयमा उठेका प्रश्नहरूको जवाफ दिँदै सुनसरीको देवानगञ्ज घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले दिने रकम सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीमार्फत पठाइसकिएको जानकारी दिनुभयो ।
मन्त्री शेर्पाले प्रदेशमा विपद् जोखिम क्षेत्रको नक्साङ्कन भइसकेको र बर्सेनि अद्यावधि हुने भन्दै ट्राफिक नियमविपरीत चलाउने सवारी चालकलाई कारबाही हुने जानकारी दिनुभयो ।
आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले बजेटमा असन्तुलन भएको असन्तुष्टि छिट्टै सम्बोधन हुने भन्दै प्रत्येक निर्वाचन क्षेत्रमा बहुवर्षीय योजना समावेश गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पछिल्लो गठबन्धनबाट बनेको प्रदेश सरकारले एउटा न्यूनतम साझा कार्यक्रम घोषणा भइसकेको र यो सरकारले ग्रहण गरी लागू हुने क्षणमा रहेको स्पष्ट पार्नुभयो ।
मन्त्री लिङ्थेपले कोशी प्रदेशमा आर्थिक वर्ष २०८२/८३ मा पुँजीगत खर्च ७२ दशमलव ७३ प्रतिशत भएको जनाउँदै यो अन्य प्रदेशको तुलनामा सकारात्मक रहेको धारणा राख्नुभयो ।
यसअघि प्रदेशसभाको शून्य समयमा कोशी प्रदेशसभा सदस्य गीतादेवी रेग्मीले चाडपर्व नजिकिँदै जाँदा ग्यासको कृत्रिम अभाव देखिएको, दैनिक उपभोग्य सामानको मूल्य अभिवृद्धि भएको र आवश्यक वस्तुहरुको अभाव सिर्जना भएकाले सरकारले यसमा ध्यान दिनु पर्ने बताउनुभयो । सभाको अर्को बैठक भोलि शनिबार बिहान ११ः०० बजे बस्नेछ ।