म्याग्दी, २० असोजः म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङबाट जटिल अवस्थामा एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
मल्कवाङ स्वास्थ्य चौकीबाट धवलागिरि गाउँपालिका–४ की २१ वर्षीया सम्झना लामगाडेको हेलिकप्टरबाट उद्धार गरिएको हो । उहाँलाई पोखराको गण्डकी अस्पताल लगिएको छ । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र प्रदेश अस्पताल बेनीसँग समन्वय गरेर सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरेर पोखरा लगिएको धवलागिरि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताउनुभयो ।
भौगोलिक रुपमा विकट मल्कवाङ जोड्ने सडक मनसुनजन्य विपद्का कारण अवरुद्ध बनेकाले निःशुल्क हवाई उद्धार गरिएको हो । गण्डकी प्रदेश सरकारले जटिल अवस्थाका भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका गर्भवति तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गर्दै आएको छ ।
यसअघि गत आइतबार धवलागिरि गाउँपालिका–४ की २३ वर्षीया झरना छन्त्याललाई पनि हेलिकप्टरबाट उद्धार गरेर गण्डकी अस्पताल पोखरामा लगेर प्रसूति गराइएको थियो ।